पुनर्निर्माण अनुदान असार भित्र पहिलो किस्ता लिनैपर्ने, नलिए अनुदान रकम नपाउने

4.68K
shares

काठमाडौँ । विनासकारी भूकम्प पछिको निजी आवास पुनर्निर्माण अनुदानका लागि ०७६ असार मसान्तभित्र पहिलो किस्ता लिनैपर्ने भएको छ ।

अबको करिब चार महिनाभित्र निजी आवास पुनर्निर्माण लाभग्राहीहरूले अनुदान रकमको पहिलो किस्ता नलिए अनुदान रकम नपाउने भएका छन् । सरकारले अनुदानका लागि पहिलो किस्ता लिने मिति आगामी असार मसान्तसम्म तोकेकाले पहिलो किस्ता असारसम्म अनिवार्य भएको हो ।

गत ३ माघमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले निजी आवास पुनर्निर्माण सम्पन्न गरी अनुदान लिन सबैमा अनुरोध गर्दै २०७६ असारसम्मको समय सीमा तोकेको थियो ।

निजी आवास बनाउने घरधनीले असार मसान्तभित्र पनि पहिलो किस्ता नलिएको अवस्था र सरकारले म्याद नथपेको अवस्थामा त्यसपछि बनाइएको निजी आवासले अनुदान पाउन जटिलता उत्पन्न हुने भएको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लाभग्राहीलाई आआफ्नो घर छिटो सुरक्षित पुनर्निर्माण गरी अनुदानको दोस्रो र तेस्रो किस्ता पनि समयमै लिनसमेत अनुरोध गरेको छ ।
साभार राजधानी