राष्ट्रपतिले भाइ डेगेन्द्रलाई लगाइ दिइन् टीका

२०७५ कात्तिक २३ शुक्रवार
1.9K
shares
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइ दिएकी छन् । उनले राष्ट्रपति भवन शीतलनिवासमा बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा पाण्डेलाई सप्तरंगी टीका लगाइ दिएकी हुन् ।
राष्ट्रपति भण्डारीले टीका लगाइ दिएर भाइलाई आशीर्वाद दिँदै दुबो, मखमलीयुक्त माला लगाइ दिइएर कटुस, ओखर र मिठाइ खुवाएकी थिइन् । भाइ डेगेन्द्रले यथाशक्य दक्षिणा प्रदान गरेर राष्ट्रपति भण्डारीसँग आशीर्वाद लिएको राष्ट्रिय समाचार समिति (रासस)ले जनाएको छ ।
भाइटीकाको तस्वीर र भिडियो खिच्न गएका पत्रकारहरुलाई भने राष्ट्रपति निवासमा प्रवेश निषेध गरिएको थियो । समाचार संकलनका लागि गएका पत्रकारहरुलाई शितलनिवासको गेट बाहिरैबाट फर्काइएको थियो ।
दशैंमा राष्ट्रपति भण्डारीले लगाइ दिएको टीकाको फोटो र भिडियो सार्वजनिक भएपछि निकै आलोचना भएको थियो । त्यही भएर तिहारमा पत्रकारहरुलाई फोटो र भिडियो खिच्न नदिइएको अनुमान छ ।

२०७५ कात्तिक २३ शुक्रवार