प्रचण्ड पुगेपछि तातोपानी कुण्डमा पर्यटक ह्वात्तै बढे

वि.सं.२०७५ मंसिर १७ सोमवार १६:४७
shares

म्याग्दी । दुई साताअघि पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्ड र संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सपरिवार म्याग्दीको तातोपानी कुण्ड आएका थिए । शीर्षस्थ नेता आएकाले तातोपानी कुण्डले केही समय सञ्चारमाध्यममा चर्चा पायो । तातोपानीका प्राकृतिक मुहान व्यवस्थापन भइरहेको म्याग्दीमा यसको महत्त्व बढ्दो छ ।
म्याग्दीमा आधा दर्जनभन्दा बढी प्राकृतिक तातोपानीका मूल छन् । वर्षौंदेखि यस्ता मूलमा पुग्नेको भीड बाक्लिएको छ । कतै महत्त्व थाहा पाएर कुण्ड बनाई व्यवस्थित गरिएका छन्, कतै गाउँलेहरू अब बल्ल योजना बनाउने तरखरमा छन् । विभिन्न रोगको उपचार तातोपानीका यस्ता प्राकृतिक मूलहरूबाट हुन्छ भन्ने थाहा पाएकाहरू कुण्डलाई ताकेरै यात्रा गर्छन् ।
म्याग्दीमा कालीगण्डकी, राहुघाट र म्याग्दी खोला किनाराका ८ स्थानमा तातोपानीका प्राकृतिक मूलहरू छन् । मूल आसपास दुई दशकअघिसम्म बस्ती थिएनन् । कुनै–कुनैमा एकाध घर थिए । अहिले घना बस्ती भएका छन् । परम्परादेखि नै तातोपानीमा डुबुल्की मारेर ९हट वाटर स्पा० पुर्खाले प्राकृतिक उपचार गर्थे भन्न छुटाउँदैनन् स्थानीयवासी ।
यीमध्ये बेनी ४ म्याग्दी खोला किनाराको सिंगा तातोपानी र अन्नपूर्ण गाउँपालिका–२ कालीगण्डकी किनारको भुरुङ–तातोपानीको मुहान यहाँ बढी प्रख्यात छन् । दुवैले व्यवस्थापन समिति गठन गरी कुण्ड व्यवस्थित गरेर बर्सेनिउल्लेख्य रकम आम्दानी गरिरहेका छन् । संघीयता कार्यान्वयनसँगै गठित स्थानीय तहमा निर्वाचित भएर जनप्रतिनिधि आएपछि आफ्नो गाउँठाउँको विकासका लागि लगानी धेरै चाहिएको छ । आन्तरिक स्रोत वृद्धिका लागि धेरैले पर्यटकलाई प्राथमिकतामा राखेका छन् ।
तातोपानीले पर्यटक आकर्षित गरिरहेको देखेका जनप्रतिनिधिको चासो कुण्ड व्यवस्थापन र आम्दानी वृद्धिमा परेको छ । यसका लागि स्थानीयवासी र जनप्रतिनिधिबीच छलफल सुरु भएको छ । तातोपानी कुण्डमा प्रवेश शुल्कले हुने आम्दानीसँगै सम्बद्ध क्षेत्रको बजार पर्यटकका भरमा छन् ।
सिंगा तातोपानीमा बिरेनुन, भुरुङ र नारच्याङ तातोपानीमा नुनको गन्ध र स्वाद पाइन्छ । अन्य स्थानका तातोपानी भने गन्धरहित छन् ।
तातोपानीको महत्त्व प्रचार हुँदै जाँदा स्थानीयले कुण्डका रूपमा संरक्षणमात्रै गरेका छैनन्, तातोपानीले बस्ती विस्तार र आयआर्जनमा सघाएका छन् । तातोपानीका कुण्ड भएका ठाउँहरू बजारका रूपमा विस्तार भएका छन् । रोगको निदान खोज्दै आउनेहरू मात्रै होइन मुस्ताङ आउजाउ गर्ने यात्रु पनि तातोपानीमा रोकिन्छन् । तातोपानीका प्राकतिक मूलहरू विभिन्न रोगको उपचारमा सहयोगी रहेको चित्किसकको पनि भनाइ छ ।
सिंगा–तातोपानी म्याग्दी र बागलुङको अधिकांश पश्चिमी भाग, रुकुम र डोल्पासम्मको व्यापार गर्ने पुरानो मार्गमा पर्छ । भुरुङ तातोपानी उत्तरी भेग जोड्ने मात्र होइन मुस्ताङ हुँदै तिब्बतसम्मको भोट–मधेस व्यापार मार्गमा अवस्थित छ । धौलागिरि हिमालको फेदीमा पर्ने गुर्जा र मुदी बगर छेउमा छुट्टाछुट्टै तातोपानीका मुहान छन् । दुर्गम र निर्जन पहाड र जंगलमा पर्ने भएकाले गुर्जा र मुदीका सीमित संख्यामा स्थानीय र घुमन्ते यहाँको तातोपानी कुण्ड पुग्छन् ।
७० वर्षअघिसम्म सिंगाको स्वता नजिक म्याग्दी खोला बगरमा तातोपानीको मूल निक्लन्थ्यो र बग्थ्यो । हिउँदमा गोठालाहरू खोला किनाराको तातोपानीमा अस्थायी पोखरी बनाई नुहाउने चलन थियो । हिउँदको जाडो छल्न तातोपानीको पोखरीमा डुब्दा हाडजोर्नी र पेटका बिरामीलाई फाइदा भएपछि वरपरका बस्तीबाट मान्छेहरू डुब्न आउन थाले । विस्तारै फाइदाको चर्चा फैलियो । तातोपानीको कुण्डमा टाढा–टाढाबाट खोज्दै डुब्न आउने क्रम बढ्यो ।
उत्तरी मुस्ताङ प्रवेश गर्ने नाकामा पर्छ संसारको सर्वाधिक गहिरो मानिएको अन्ध गल्छी । यही अन्धगल्छीमा अवस्थित छ भुरुङ तातोपानी । यो निकै पुरानो बस्ती हो । प्राचीनकालमा भारत–भोट ९तिब्बत० व्यापारको सहायक मार्ग ‘सब साल्ट ट्रेकिङ रुट’ मा पर्ने कालीगण्डकी नदी बगरलाई नुन व्यापारी थकालीले हिउँदे थलोका रूपमा उपयोग गरेको इतिहास छ ।
परापूर्वकालदेखि नै मुस्ताङी थकालीले भुरुङ तातोपानीमा अस्थायी पोखरी बनाई ‘जाडो फाल्न’ नुहाउन आउने गर्थे । बाह्रैमास चिसो रहने मुस्ताङमा हिउँदमा चिसो पानीले नुहाउन गाह्रो हुन्छ । त्यसै पनि चिसो भइरहने भूभागका बासिन्दा नुहाउनका लागि गाह्रो मान्छन् । त्यस्ताका लागि तातोपानीका प्राकृतिक मुहानले नुहाउन सजिलो भएको हो ।