कमलपोखरी निर्माणको जिम्मा स्थानीयलाई

5.11K
shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कमलपोखरीको निर्माण, व्यवस्थापन र संरक्षणमा स्थानीयवासीले दायित्व लिएमा जिम्मेवारी दिन तयार रहेको जनाएको छ। कामपाको शहरी योजना आयोगले सोमबार आयोजना गरेको कमलपोखरीसम्बन्धी स्थानीयसँगको छलफल कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले निर्माणको जिम्मा स्थानीयले लिएमा दिन सकिने बताएका हुन्।

ऐतिहासिक कमलपोखरी सोहीअनुरुप निर्माण गर्ने काम कामपाको प्राथमितामा परेको पनि शाक्यले जानकारी दिए। सङ्घीय संसद् सदस्य गगन थापाले स्थानीयवासीसँग छलफल गर्दै आगामी छठ पर्वसम्ममा पोखरी निर्माण गरिसक्नुपर्ने भन्दै सबैको लागि पहुँचयुक्त सार्वजनिक स्थल बनाउन महानगरले भूमिका खेल्नुपर्ने सुझाव दिए।

आयोगका सदस्य(सचिव सरोज बस्नेतले पोखरीलाई वास्तु शास्त्रमा आधारित, ज्ञान प्राप्त गरिने तथा सीपयुक्त कलात्मक सम्पदाका रुपमा विकास गरिने बताए। छलफलमा सहभागी स्थानीयले कमलपोखरीको सरसफाइ र सुरक्षाका लागि विगतमा भएका अभ्यासको सम्झना गर्नुपर्ने, पोखरीको जमीन अतिक्रमण हुनबाट बचाउनुपर्ने, विगतमा अतिक्रमित जग्गा फिर्ता गरिनुपर्ने, स्रोतको दुरुपयोग रोक्नु पर्नेमा जोड दिएका थिए।

त्यसैगरी कमलपोखरीमा वार्षिक महोत्सव गरिनुपर्ने, स्थानीय जीवनसँग पोखरी व्यवस्थापनलाई अन्तर सम्बन्धित बनाइनु पर्ने, पोखरीको पानीलाई स्वच्छता कायम गर्नुपर्ने, बालमैत्री, ज्येष्ठ नागरिकमैत्री र सुरक्षित हुनुपर्ने बताएका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083