‘जानीजानी अनुसन्धानमा लापरवाही गर्ने कुरा प्रहरी सङ्गठनका लागि क्षम्य हुँदैन’ : आइजीपी खनाल

5.2K
shares

काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा हुने जुनसुकै प्रकृतिको हिंसाको अनुसन्धानमा प्रहरीले लापरवाही गर्न नहुने बताएका छन् ।

एसियाली विकास बैँक, नेपाल प्रहरी अपराध अनुसन्धान विभाग र महिला तथा बालबालिका निर्देशनलायले आज यहाँ आयोजना गरेको ‘लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समितिको परिमार्जित कार्य सञ्चालन –२०७५’ सम्बन्धी गोष्ठीमा उनले महिला बालबालिका हिंसाको अनुसन्धानमा शून्य सहनशीलता अपनाउनुपर्ने बताए । ‘अनुसन्धानमा जानीजानी लापरवाही गर्ने कुुरा प्रहरी सङ्गठनका लागि क्षम्य हुँदैन,’ –उनले भने ।

महानिरीक्षक खनालले गत महिना प्रहरीले समाजमा हुने अपराध नियन्त्रण गर्न ‘प्रहरी–समुदाय साझेदारी कार्यक्रम’ ल्याएको भन्दै यसको सफल कार्यान्वयन भए समाजमा हुने जुनसुकै प्रकृतिका हिंसामा कमी आउने विश्वास व्यक्त गरे । उनले प्रहरीले महिला तथा बालबालिकामाथि हुने हिंसामा ८७ प्रतिशत सफल अनुसन्धान गरेको बताउँदै यसले मात्र अनुसन्धान पूरा नहुने स्पष्ट पारे । ‘९५ प्रतिशत नतिजा दिने गरी प्रहरीले काम गर्नुपर्छ,’– महानिरीक्षक खनालले भने ।

उनले प्रहरीबाट हुने हरेक किसिमका क्रियाकलापमा महिला सहभागितालाई प्राथमिकता दिएको बताए । संयुक्त राष्ट्र सङ्घीय मिसनमा प्रतिनिधित्व हुने प्रहरी जनशक्तिमा महिलाको मात्र छुट्टै् मिसनको व्यवस्था गर्ने सोच प्रहरीले अगाडि बढाएको उनको भनाइ थियो । काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीले धनी र इज्जतदार परिवारबाटै महिला तथा बालबालिकामाथि हिंसा हुने गरेको भन्दै यसको रोकथाम गर्न व्यक्ति स्वयं सुध्रिनुपर्ने बताइन् । उपप्रमुख खड्गीले स्थानीय तहको निर्वाचनसँगै ९४ प्रतिशत महिला उपप्रमुखमा चुनिएर आएको बताउँदै यसको रोकथामका लागि महिला नै जागरुक हुनुपर्ने उल्लेख गरिन् ।

एसियाली विकास बैँक नेपालको तर्फबाट महिला तथा बालबालिकाको क्षेत्रमा लामो समय काम गरेकी कार्यक्रम संयोजक सुलोचना श्रेष्ठले महिला तथा बालबालिकामाथि हुने हिंसा नियन्त्रणमा ८ वर्षदेखि एडिबीले नेपाल प्रहरीसँग सहकार्य गर्दै आएको बताइन् । ‘सन् २०१० मा जुम्लाका ३० गाउँ विकास समितिबाट शुरु भएको यो अभियान अहिले नेपालका २० जिल्लामा सञ्चालित छ,’–उनले भनिन्, ‘न्यायमा पहुँच प्रदान गर्न यो कार्यक्रम ७७ वटै जिल्लाका सबै स्थानीय तहमा सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो ।’

प्रहरी अतिरिक्त महानिरीक्षक पुस्कर कार्की र प्रहरी नायब महानिरीक्षक हरिभक्त प्रजापतिले प्रहरीले सीमित स्रोतसाधनका बीच पनि महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरण तथा रोकथाममा प्रशस्त काम गरेको उल्लेख गरे । दुई दिनसम्म चल्ने गोष्ठीमा ७७ वटै जिल्लाका प्रहरी कर्मचारीको सहभागिता रहेको छ । रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083