रानीबारीकै शैलीमा पर्दा खुल्ला निर्मला प्रकरण
वि.सं.२०७५ मंसिर २० बिहीवार १०:२८
shares

काठमाडौं । रानीबारी हत्याकाण्डको अनुसन्धान १४ वर्षसम्म उपलब्धिहीन थियो । विभिन्न टोली र समिति खटाए पनि प्रहरीले इन्जिनियर दम्पतिको हत्यारा पत्ता लगाउन सकेको थिएन । तर, नाटकीय रुपमा प्रहरीले तीन वर्षअघि दोषीलाई पक्राउ गरेको थियो ।
निर्मला प्रकरणमा केही युवकले गल्ती आफूहरूले गरेको, तर प्रहरीले अरूलाई दुःख दिएको भन्दै आपसमा कुरा गरेको स्थानीयले सुनेका थिए । तिनै स्थानीयले त्यससम्बन्धी सूचना प्रहरीलाई दिएका थिए । सो आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । उनीहरू सबैजना लागुऔषध दुर्व्यसनी रहेको र केहीले अपराध स्वीकार गरेको प्रहरी स्रोत बताउँछ ।
सो घटनाका अभियुक्तको सूचना प्रहरीले भट्टीबाटै प्राप्त गरेको थियो । अभियुक्तहरू मनराज गुरुङ र प्रमेश चौहानले एक भट्टीमा आफूहरूले एक दम्पतीको हत्या गरेपनि पैसा नपाएको विषयमा चर्चा गरेका थिए । उनीसँगै त्यहाँ रहेका व्यक्ति पछि ठगीमा मुद्दामा पक्राउ परे । उनले त्यससम्बन्धि विवरण सिआईबीको हिरासतमा खुलाएका थिए । लगत्तै दुवैजना पक्राउ परे । अदालतले पनि उनीहरूलाई जन्मकैदको फैसला सुनाएको छ ।
३१ असार २०६९ मा इन्जिनियर हेमन्त श्रेष्ठ र उनकी श्रीमती अञ्जलीको हत्या भएकोमा अभियुक्तहरू १४ वर्षपछि अर्थात् १ चैत २०७१ मा पक्राउ परेका थिए ।











