‘जतिसुकै चलाख अपराधी भए पनि केही न केही संकेत त छाडेकै हुन्छ’ : डिएनए वैज्ञानिक झा

5.28K
shares

काठमाडौँ । केही वर्षअघि एकजना महिलाको हत्या भयो। अनेकौं अनुसन्धान गर्दा पनि हत्या कसले गर्‍यो, कुनै ‘क्लु’ भेटिएन। पछि घटनास्थलमा कपडा जलेको खरानीको एउटा टुक्रो भेटियो। त्यसबाट डिएनए टेस्ट गर्दा शंका गरेको अभियुक्तको डिएनएसँग मेल खायो। अभियुक्त पत्ता लाग्यो।

२०७४ साल जेठको पहिलो साता चितवनमा करौडौँ मूल्य पर्ने २० वर्ष पुरानो आखेटोपहार नष्ट गरियो। ४८ प्रजातिका जनावरका आखेटोपहार जलाइएको थियो। वन्यजन्तु तस्करबाट नेपाल प्रहरीले बरामद गरेका अंग थिए ती। अन्तरार्ष्ट्रिय बजारमा करौडौँ मूल्य पर्ने। ती अंग नष्ट गर्नुअघि डिएनए परीक्षण गरेर प्रजातिको पहिचान गरिएको थियो।

त्यो खबरले चौतर्फी प्रशंसा पायो। १८ जनाको टोलीले १२ दिन लगाएर काम गरेको थियो। टिममा वनमन्त्री अग्निप्रसाद खरेलदेखि परराष्ट्रमन्त्री प्रकाशशरण महतसमेत थिए। मन्त्रिपरिषदबाट गठन गरिएको टिम थियो, त्यो। ती जनावरका अंगको पहिचान गर्ने र खरानीको टुक्रोबाट डिएनए परीक्षण गरी अभियुक्तको पहिचान गर्ने काम गरेका थिए राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका डिएनए चिफ डाक्टर दिनेशकुमार झाले। अत्यन्तै चुनौतीपूर्ण काम सफल भएको थियो।

‘२० वर्ष पुरानो अंग, ४ हजारभन्दा बढी स्याम्पल,’ झाले भने, ‘त्यो कति गाह्रो काम थियो, सामान्य मान्छेले बुझ्न गाह्रो छ।’

एक वर्षअघिसम्म राष्ट्रिय जनावर गाई मारेर मासु खाएका उजुरीहरु धेरै पर्थे। पहिचान गर्ने उपकरण नहुँदा कारवाही हुन्नथ्यो। एक वर्षअघि मात्रै झाले नेपालमा जनावरको डिएनए परीक्षण गर्ने यन्त्र भित्राए। अहिले एक वर्षमै २ दर्जनभन्दा बढी गाई मार्नेहरुलाई कारवाही भइसकेको छ।

खरानीको टुक्राबाटै डिएनए परीक्षण गरेर अभियुक्त पत्ता लागेको केस अदालतबाट फाइनल भइनसकेको हुनाले उनी पहिचान खुलाउन चाहँदैनन्। तर, सामान्य संकेतबाट पनि नेपालमै डिएनए परीक्षण गर्न सफल भइसकेको कयौं उदाहरणमध्ये एकका रुपमा यसलाई व्याख्या गर्छन्।

नेपालमा डिएनए प्रविधि आएको एक दशकमा धेरै नयाँ प्रविधि भित्रिसकेको छ। अब massive parallel sequencing भित्र्याउने तयारी छ। यसले जस्तोसुकै डिएनए टेस्टलाई अझ सफल तुल्याउने विश्वास उनको छ।

नेपालमा डिएनए प्रविधिको इतिहास लामो छैन। सोही कारण ‘डिएनए एक्सपर्ट’ भेट्न मुस्किल छ। औँलामा गन्न सकिने ‘डिएनए साइन्टिस्ट’हरुमा झाको नाम अग्रपंक्तिमा आउँछ। काम गरिरहेका डिएनए वैज्ञानिक मध्येका अनुभवी हुन् उनी। उनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा २० वर्ष काम गरिसके उनले। विगत आठ वर्षदेखि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको डिएनए प्रमुख छन्।

झा सप्तरीको राजविराजमा जन्मिए। गाउँकै सरकारी स्कूलबाट एसएलसी पास गरे। साइन्स पढ्ने कलेज नेपालमा भन्दा भारतमा नजिक थियो। त्यतैबाट आइएस्सी र बिएस्सी गरे।

एमएस्सी भने त्रिभुवन विश्वविद्यालयबाट गरे। २०५२ सालको एमएस्सी टपर हुन् उनी। त्यसपछि अमृत साइन्स क्याम्पसमा चार वर्ष पढाए। २०५६ सालमा सहायक वैज्ञानिक अधिकृत बनेर राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा काम थाले।

नेपालमा त्यतिबेला फरेन्सिकको कोर्स थिएन। कुनै तालीम हुँदैनथ्यो। सामान्य जानकारी लिन पनि इन्टरनेटको सुविधा थिएन। काम गर्दा ‘केयरलेस’ भए गलत परिणाम निस्कन्थ्यो। ‘संवेदनशील’ फिल्ड भएकाले काम गर्न गाह्रो थियो।

सुरुवातका २ वर्ष उनले वैज्ञानिक जीवनप्रसाद रिजालको ‘एसिस्टेन्ट’ बनेर काम गरे। फरेन्सिक एक्सपर्ट रिजाल राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशक पदबाट ६ महिना अघिमात्रै रिटायर्ड भए। उनै रिजालसित दुई वर्ष निरन्तर ‘एसिस्टेन्ट’ भएर काम गरेपछि रिपोर्ट दिने अवस्थामा पुगे उनी। काम सुरु गरेको सात वर्षपछि मात्र डिएनए ‘एक्सपर्ट’को रुपमा काम गरे।

त्यतिबेला प्रविधि नभएकाले डिएनए विश्वसनीय थिएन। अहिले प्रविधिले फड्को मारेको छ। झा भन्छन्, ‘जति अपराधीले ‘टेक्निक’ विकास गर्दैछन्, त्यसरी नै प्रविधिले पनि फड्को मारेको छ। त्यसैले अपराधी पत्ता लगाउन गाह्रो छैन।’

नेपालमा डिएनए परीक्षणको प्रविधि भित्रिएको २०६२ सालपछि मात्रै हो। यस अवधिमा थप अत्याधुनिक प्रविधि पनि भित्रिरहेको छ। किनकि प्रविधिको विकास तीब्र गतिमा भइरहेको छ। त्यसैले अपडेट हुनु अनिवार्य छ। अनि हरेक केशले जिरोबाट अनुसन्धान गर्न सिकाउने बताउँछन्, झा।

२०६२ सालअघि ब्लड ग्रुपबाट अनुसन्धान गर्नुपर्थ्यो, झाले भने, ‘अहिले नङ, कपाल, लुगा जेबाट पनि अपराधी पत्ता लगाउन सकिन्छ।’

डिएनएको रिपोर्टमा वादी र प्रतिवादी दुई पक्ष भएकाले भएकाले कतिपय अवस्थामा डिएनएमै शंका हुन्छ। मुद्दा अदालतसम्म पुगेको अवस्थामा डिएनए टेस्ट गर्ने व्यक्ति अदालत पुगेर स्पष्टिकरण दिनुपर्छ। त्यस्तो अवस्थामा डिएनए टेस्ट गर्ने व्यक्ति, टेस्ट गरिएको ल्याब र व्यवस्थापनमा प्रश्न खडा हुन्छ। झाका अनुसार डिएनए गर्ने चारवटा प्रकिया हुन्छ। हरेक कोषिकामा डिएनए हुन्छ। कोषिकाअनुसार डिएनएको मात्रा पनि फरक हुन्छ। डिएनएको मात्रामा रहेको फरकपनलाई खोज्दै ‘डिएनए टेस्ट’ गर्नुपर्ने झाको कथन छ।

जस्तोसुकै चलाख अपराधीले पनि अपराध गर्दा संकेत छोडेको हुने बताउँछन् झा। कुनै संकेत या कोषिका बिनाको अपराधस्थल नहुने उनको कथन छ। ती संकेत डिएनएले नै पत्ता लगाउने दावी गर्छन् उनी।

‘रगत होस् या वीर्य, र्‍याल होस् या खकार। नङ होस् या कपाल’, झा भन्छन्, ‘अपराध स्थलमा केही भेटिएन भने त्यहाँको माटो र खरानीबाट पनि अपराधीको बारेमा संकेत मिल्छ।’ झाका अनुसार अनुसन्धान गर्दा दुवै पक्षको डिएनए एउटै ल्याबमा एउटै उपकरणबाट एकै समयमा गर्नुपर्छ। तर, त्यो नगरी फरक ल्याबमा फरक समयमा डिएनए टेस्ट गर्दा ‘नेगेटिभ रिजल्ट’ नै नआए पनि त्यो बेस्ट रिजल्ट हुँदैन। झा भन्छन्, ‘सकभर फरक ल्याबमा फरक समयमा डिएनए नगरेको राम्रो।’

साढे तीन वर्षअघिको एउटा काम जीवनभर भुल्दैनन् उनी। मेसिन बिग्रिएको थियो त्यो बेला। ४० भन्दा बढी केस पेन्डिङ थियो। एक्लैले निरन्तर ७२ घण्टा काम गरे। घर जान फुर्सद पाइएन। काममा लाग्दा सबै बिर्सिए। भन्छन्, ‘लोडसेडिङको कारणले दुस्ख दिएको थियो। कामको प्रेसरले लगातार काम गर्नैपर्यो। दायाँ बायाँ केही याद भएन।’

उनी आफूले गरेको हरेक कामबाट खुशी छन्। प्यासन नै यही भएकाले कहिल्यै दिक्क हुँदैनन्। काम गर्दा आइपर्ने चुनौतीलाई अवसरको रुपमा लिन्छन्। भन्छन्, ‘हरेक दिन समस्या आइरहन्छ अवसर ठानेर काम गर्नुपर्छ। नत्र कसरी टिक्नु, कसरी सिक्नु ?’

डिएनए टेस्ट अपराधसँग जोडिएकाले खतरा सधैँ हुन्छ। हाइप्रोफाइल केसमा दबाब र प्रभाव दिनेहरु आउन सक्छन्। झाको हकमा पनि यस्ता अफरहरु नआएका हैनन्। तर, उनी डगमगाएनन्। भने, ‘कतिपय अवस्थामा प्रभाव पार्न खोजे, ‘इमोसनल ब्ल्याकमेलिङ’ गर्न खोजे। मलाई अप्ठ्यारो भयो तर म डगमगाइनँ।’

सीमित स्रोत साधनको प्रतिकूल अवस्थामा पनि काम गरेका छन् झाले। देश विदेशमा गएर फेलोसिप गरेका छन्। नयाँ नयाँ प्रविधिसँग अपडेट भइरहेका छन्। आफ्नो संस्थामा लेटेस्ट टेक्नोलोजी भित्राइरहेका छन्। देखेका सपना धेरै पूरा भइसकेका छन् उनका।

‘डिएनए डाटाबेस एक्ट’ ल्याउन पहल गर्ने एकमात्र ड्रिम प्रोजेक्ट हो उनको। उनका अनुसार डिएनए डाटाबेस भए एउटा अपराधको पछाडि सारा देश नै पछाडि लाग्नुपर्दैन। डिएनए डाटाबेस भारत, बंगलादेश लगायत ७५ भन्दा बढी देशमा लागू भइसकेको छ। ऐन नबनिकन डिएनए डाटाबेस सुरु नहुने उनको कथन छ। भन्छन्, ‘डिएनए डाटाबेस सिस्टम लागू नभइकन म मरे भने मलाई धेरै पछुतो हुनेछ। यसको अब आवश्यक भइसक्यो।’


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083