एआइजीका सामु आइजीपी निरीह!
वि.सं.२०७५ माघ २५ शुक्रवार १४:३८
shares

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) ले २०७५ माघ २९ मा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १८७ औं समूहको दीक्षान्त समारोहमा पूर्वएआइजी राजेन्द्रसिंह भण्डारीलाई सम्मानित गर्न लागेकोमा प्रहरीभित्रै त्यसप्रति असन्तोष पैदा भएको छ।
दीक्षान्त समारोहमा प्रमुख अतिथि केपी शर्मा ओलीको हातबाट पूर्वएआइजी भण्डारीलाई ‘लाइभटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गर्न लागिएको छ। एकेडेमीका प्रमुख एआइजी धिरु बस्नेतले पूर्वएआइजी भण्डारीलाई उक्त अवार्डबाट सम्मानित गर्न लागेका हुन्।
एकेडेमीका एक प्रहरी अधिकृतका अनुसार संगठनको विरोधी लेख लेख्ने, संगठनले चालेका कदमको विरुद्ध लाग्दैआएका भण्डारीलाई पुरस्कृत गर्ने निर्णय उचित भएन। उनीबाहेक अरु प्रहरीमा योगदान गरेका धेरै छन्। तर ३३ किलो सुन र सनम शाक्य हत्या छानबिन प्रकरणमा उनले पूर्वडीआइजी रमेश खरेललाई अगाडि सारेर दिएको सार्वजनिक अभिब्यक्ति विवादमा परेको थियो।

पूर्वएआइजी भण्डारीकै अग्रसरतामा रमेश खरेल र हेमन्त मल्ल ठकुरीसमेतले सुन छानबिनमा प्रहरी अधिकारीलाई पक्राउ गर्नु गलत हो भनी सरकारविरुद्ध पत्रकार सम्मेलन गरेका थिए।
सूर्यनाथ उपाध्याय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख हुँदा पूर्वएआइजी भण्डारीले धेरै प्रहरी अधिकृतका विरुद्ध उजुरी हाल्दै छानबिन गर्न लगाएका थिए। आफ्नै अधिकृतलाई फसाउने भनेर उनी प्रहरी संगठनमा चिनिन्छन्।
प्रहरी संगठनमा उनी क्षमतावान मानिए पनि उनले आफ्नै सहकर्मी र माथिल्ला अधिकृतविरुद्ध अख्तियारमा हुँदा देखाएको रबैयाले उनी आलोचित छन्। संगठन भित्र उनको सकारात्मक छवि नभएको अवस्थामा एआइजी बस्नेतले सम्मान प्रदान गर्ने निर्णय गरेका छन्। एआइजी बस्नेतले संगठन विरुद्ध लागेकालाई सम्मानित गर्न लागेको भनेर प्रहरीभित्र टिकाटिप्पणी हुँदा पनि आइजीपी सर्वेन्द्र खनाल भने मौन देखिएका छन्।
सरकारकै निवृत्तिभरण खाएर सरकार र संगठनको हितविरुद्ध बोल्नेलाई एआइजी धिरु बस्नेतले किन पुरस्कृत गर्न खोजेका हुन् भन्ने प्रश्न उठिरहेको बेला आइजीपी खनाल भने निरीह देखिएका छन्।






























