राष्ट्रपति भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेश
वि.सं.२०७५ फागुन ६ सोमवार १५:२९
shares

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ता कार्यालय तथा मातहातका सरकारी वकिल कार्यालयले सम्पादन गरेका आर्थिक वर्ष २०७४र७५ को वार्षिक प्रतिवेदन पेश गरेको छ। शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरेको विशेष समारोहकाबीच राष्ट्रपति भण्डारी समक्ष महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सो वार्षिक प्रतिवेदन पेश गरेका हुन्।
नेपालको संविधानको धारा १५९ को उपधार (१) मा भएको व्यवस्थाअनुसार महान्यायाधिवक्ता कार्यालयले प्रत्येक वर्ष संविधान र सङ्घीय कानून बमोजिम आफूले सम्पादन गरेका कामको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ। वार्षिक प्रतिवेदनमा महान्यायाधिवक्ताको कार्यालय र मातहतका सरकारी वकिल कार्यालयबाट सम्पादन भएका काम कारवाहीको विस्तृत विवरण, स्रोत साधनको अवस्था, भौतिक स्थिति, कार्यरत् जनशक्तिको विवरणसहित महत्वपूर्ण काम समेटिएको छ।
यस आर्थिक वर्षमा नेपाल सरकार वादी मुद्दा चलाउने गरी निर्णय भएका २९ हजार २३० र प्रतिवादी ५८ हजार ५३९ मुद्दा रहेका छन्। महान्यायाधिवक्ता तथा मातहतका सरकारी वकिल कार्यालयबाट बहस पैरवी र प्रतिरक्षा गरिएका मुद्दा, रिट तथा निवेदनको सङ्ख्या ८० हजार ७७ रहेको छ। यो गत आर्थिक वर्षको भन्दा ६ दशमलब ९८ प्रतिशतले बढी हो।
प्रतिवेदनमा सरकारवादी वा प्रतिवादी भई दायर भएका मुद्दा मामिलामा सरकारी वकिल कार्यालयबाट प्रतिरक्षा गरिएको मुद्दा ६५ हजार ५२७ रहेको छ। यो गत आवको भन्दा चार हजार ६०९ अर्थात् सात दशमलव ५७ प्रतिशतले बढी हो। विगत पाँच आर्थिक वर्षमा सरकारी वकिलले प्रतिनिधित्व र प्रतिरक्षा गरेको मुद्दा, रिट तथा निवेदनको सङ्ख्य ६५ प्रतिशतले वृद्धि भएको र सो अनुसार कार्यसम्पादनमा जनशक्तिको वृद्धि हुन नसक्दा कार्य सम्पादनमा प्रभाव परेको प्रतिवेदनमा उल्लेख छ। रासस




























