थापालाई धक्का, राप्रपा संयुक्तलाई राहत, पूर्व राजाको शुभेच्छा
वि.सं.२०७५ फागुन १२ आइतवार १५:१९
shares

काठमाडौं। वैकल्पिक राष्ट्रवादी शक्ति बन्ने उद्देश्यकासाथ राप्रपाले यही फागुन १५ देखि ३० गतेसम्म मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्दैछ। २०७० सालको दोस्रो संविधानसभामा समानपातिकतर्फ २५ सिट ल्याएर संविधानसभामा चौथो ठूलो दल बनेको राप्रपा ०७४ सालको संसदीय निर्वाचनमा राष्ट्रिय दलसम्म पनि बन्न सकेन।
अहिले फेरि आफ्नो पुरानो गुमेको साख फर्काउने गरी मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सुरु हुनै लाग्दा राप्रपाका एक महामन्त्रीसहित २२ जनाले पार्टी परित्याग गरेका छन्। स्थापनाकाल देखि नै फुटको शिकार हुुँदै आएको राप्रपाको फुट नौलो भने होइन। विभिन्न चिरामा विमाजित राप्रपालाई एउटै पार्टी बनाउन लागिपरेका नेताहरुले अध्यक्ष कमल थापाले पार्टी एकता गर्न नचाहेको निष्कर्ष निकाल्दै पार्टी परित्याग गरेका हुन्।
यसअघि पशुपति शमशेर राणाको राप्रपा (प्रजातान्त्रिक) र डा.प्रकाशचन्द्र लोहनीको एकीकृत राप्रपा राष्ट्रवादीबीच एकता भइ राप्रपा संयुक्त गठन भइसकेको छ। राप्रपाभित्रका केही नेताहरुले तीनवटै राप्रपा एकता गन दवाब दिँदै आएका थिए। तर अध्यक्ष कमल थापाले एकीकरण गर्न नचाहेपछि बाध्य भएर आफूहरुले पार्टी परित्याग गरेको नेता प्रल्हाल साहले बताए।
पूर्वमन्त्री जयन्त चन्दको नेतृत्वमा राप्रपाका १४ जना केन्द्रीय सदस्यहरुले शनिबार पार्टी परित्याग गरेका थिए। चन्द पार्टीका पूर्व महामन्त्री पनि हुन्। पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरासमेत रहेका पूर्व महामन्त्री चन्दले दर्जन भन्दा बढी केन्द्रीय सदस्यका साथमा परित्याग गरेपछि राप्रपालाई ठूलो धक्का लागेको छ।
‘तीनवटै राप्रपाबीच एकीकरण गर्नुपर्छ भनेर हामीले विगत आठ महिनादेखि पहल गरेका थियौं,‘तर, अध्यक्ष कमल थापाजीले एकता गर्ने चाहना नदेखाएपछि बाध्य भएर पार्टी परित्याग गर्यौं। अध्यक्ष थापाले केही समय अगाडि असन्तुष्ट पक्षबाट दुई जना र आफ्नो पक्षबाट एक सदस्य राखी वार्ता टोली गठन गर्ने प्रस्ताव गरेका थिए। तर केन्द्रीर्य कार्य सम्पादन समितिको बैठकमा थापाले उक्त प्रस्ताव नै नल्याएको साहले आरोप लगाए।
उनले आफूहरुले त्यस विषयमा कुरा उठाए पनि अध्यक्ष थापाले पछि गरौंला भन्दै पन्छिएका थिए। राप्रपा परित्याग गरेका सबै नेताहरु राप्रपा संयुक्त प्रवेश गर्ने कार्यक्रम रहेको छ। उनीहरु विशेष कार्यक्रम घोषणा गरेर मंगलबार राप्रपा संयुक्तमा प्रवेश गर्ने कार्यक्रम रहेको छ।
पूर्व राजाको शुभेच्छा
स्रोतका अनुसार पूर्व राजाले सकेसम्म तीनवटै राप्रपाबीच एकता होस भन्ने चाहेका थिए। उनले राप्रपा कमजोर हुँदा जनता निकै निरास भएको भन्दै तीनवटै राप्रपालाई एकजट हुन सुझाव दिएका थिए। पूर्वराजाको हामीप्रति र हाम्रो पनि पूर्वराजाप्रति सहानुभूति छ,’स्रोतले भन्यो, ‘उहाँको इच्छा पनि तीनवटै राप्रपाबीच एकता होस भन्ने नै थियो। तर कमल थापाका कारण तीन दलबीच एकता हुन सकेन। पूर्व राजाले राप्रपा विभाजित हुँदा जनतामा निरासा छाएको भन्दै तीनवटै दलबीच एकता होस भन्ने चाहनु भएको थियो।
पछिल्लो समय राप्रपा अध्यक्ष कमल थापाले एकीकरण गर्न नचाहेको सूचना पाएपछि पूर्व राजाले राप्रपाभित्रको असन्तुष्ट पक्षलाई राप्रपा संयुक्तसँग एकीकरण गर्न सुझाव दिएका थिए। असन्तुष्ट पक्ष राप्रपा संयुक्तसँग एकीकृत भएपछि माउ पार्टीलाई दवाब पर्छ र ढिलो चाँडो कमल थापा पनि एकताकालागि बाध्य हुने पूर्व राजाको बुझाइ रहेको स्रोतले दाबी गर्यो। राप्रपाबीच एकता भयो भने मात्र संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न सकिने भएकाले तीनवटै राप्रपाबीच एकताको पक्षमा पूर्व राजा रहेको बताइएको छ।
तर अध्यक्ष कमल थापा तयार नभएपछि राप्रपाका संस्थापक नेता लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त चन्दसँगै पार्टी परित्याग गर्ने केन्द्रीय नेताहरुमा सहायक महामन्त्री भरत पाठक, कार्य सम्पादन समितिका सदस्यहरु प्रल्हाल साह, भरत गिरि र दिनेश श्रेष्ठ छन्। यसैगरी पूर्व सहायक महामन्त्री गोविन्द खनियाले पनि राप्रपा परित्याग गरेका छन्। खनिया लामो समयदेखि अध्यक्ष थापाका विश्वासपात्र मानिन्थे।
परित्याग गर्ने अन्य केन्द्रीय सदस्यहरुमा सानुकाजी हेक्का, चिरागमानसिँह कुँवर, रिता पोखरेल, सुन्दर खड्का, गणेशबहादुर बिष्ट छन्। यसैगरी गजेन्द्रबहादुर सिँह, बिन्दा गिरि, भरतबहादुर चन्द, गोपाल दाहाल, गणेश चन्द, मुकुन्द कार्की र पूर्ण चौलागाईंले पनि राप्रपा परित्याग गरेका छन्।




























