एमाले–माओवादी एकता संयोजन समितिको बैठक बालुवाटारमा आज बस्दै
वि.सं.२०७४ चैत २८ बुधवार ०९:३०
shares

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आज बस्दैछ । पार्टी एकीकरणका क्रममा देखिएका विवादित विषय मिलाउने प्रयासमा समितिको बैठक बोलाइएको हो । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बेलुकी ५ बजे बस्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
आगामी बैशाख ९ गते अर्थात अप्रिल २२ तारिखमा पार्टी एकताको औपचारिक घोषणा गर्ने तयारी गरिरहेका दुई दलले त्यसअघि विवादित विषय मिलाउने प्रयास सुरु गरेका हुन् । बैठकमा यसअघि कार्यदलले सहमति जुटाउन नसकेका विषयमा केन्द्रीत रहेर छलफल हुने नेताहरुले बताएका छन् ।
राजनीतिक र विधान तथा सांगठनिक कार्यदलले प्रतिवेदन बुझाएपनि निर्वाचन चिन्ह, प्रस्तावनामा ‘जनयुद्ध’ शव्द राख्ने या नराख्ने तथा एकीकृत पार्टीको समितिमा कुन पार्टीबाट कति रहने लगायतका विषय मिल्न बाँकी छ । यसअघि प्रधानमन्त्री भारत भ्रमण जानुअघि बसेको बैठकमा विवादीत विषयमा छलफल भएपनि निर्णय हुन सकेको थिएन । प्रधानमन्त्री भ्रमणबाट फर्किए लगतै बैठक आव्हान गरिएको हो ।

















