सरकारलाई लगाम कस्दै समिति : विवरण अपूर्ण भन्दै फेरि माग्यो खर्च विवरण
वि.सं.२०७५ कात्तिक २० मंगलवार १२:२०
shares

सुर्खेत । कर्णाली प्रदेशको सार्वजनिक लेखा समितिले प्रदेश सरकारलाई लगाम कस्न थालेको छ । सरकारले रारा कर्णाली महोत्सव २०७५ मा आयोजना गरिएको उद्घाटन खर्च र आर्थिक वर्ष २०७४\०७५ को बजेटको खर्च विवरण सरकारले योजना गत रुपमा नबुझाएको बताउँदै समितिले सरकारले दिएको विवरणमा असन्तुष्टि जनाएको हो ।
लेखा समितिले अघिल्लो बैठकमा तीन सदस्यीय खर्च विवरण अध्ययन उपसमिति गठन गरेको थियो । उपसमितिका सदस्य करवीर शाहीले भने, हामीले अध्ययन गर्दा सरकारले दिएको बजेट र रारा उद्घाटन कार्यक्रमको खर्च विवरण अपूर्ण लाग्यो । हामी सरकारको पैसा अनियमित नहोस् भन्ने चाहन्छौं । समितिका सदस्य गोपाल शर्माले भने, सोही बमोजिम अहिले हामी रारा र गत आर्थिक वर्षको बजेट खर्चका बारेमा सरकारसँग जवाफ मागिरहेका छौं ।
उनले सरकारले दिएको विवरण सहि या गलत के छ भन्ने निक्र्यौल गर्न आवश्यकताअनुसार समिति स्थलगत अध्ययन गर्न जाने बताए । हामीलाई सरकारले दिएको विवरणमा शंका लागेको खण्डमा हामी स्थानीय स्तरमै जानेसम्मको योजनामा छौं । सांसद शर्माले भने, ‘तर अहिले सरकारले हामीलाई विवरण पूर्णरुपमा दिने आशा छ ।
































