नेविसंघद्वारा आन्दोलन घोषणाः ७७ वटै जिल्लामा प्रधानमन्त्रीको पुत्ला दहन र चक्का जाम गर्ने

5.01K
shares

काठमाडौं । नेपाल विद्यार्थी संघ नेविसंघका अध्यक्ष नैनसिंह महरले तपेश्वर उच्च माध्यामिक विद्यालय काभ्रेका इकाई अध्यक्ष कृष्ण ढकाललाई विनासर्त रिहाई नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

काठमाडौंमा शनिबार पत्रकार सम्मेलन गरेर सभापति महरले जनताका अधिकार र महंगीको बारेमा सरकार बेखबर रहेको भन्दै आफ्ना कार्यकर्ताहरूलाई विभिन्न बहाना बनाएर जेलमा कोच्ने काम गरेको आरोप लगाए । नेता ढकालको रिहाईको लागि आफूहरूले शान्तिपूर्ण धर्ना र जुलुस गरिरहेको बताउँदै यति गर्दापनि रिहाई नगरे कडा आन्दोलनमा उत्रिने उनले चेतावनी दिए ।

नेविसंघका नेता पक्राउको विरोधमा यही कात्तिक २५ र २६ गते काभ्रेका सम्पूर्ण विद्यालय बन्द गर्ने संघर्षको कार्यक्रम घोषणा गरेका छन् । नेविसंघ केन्द्रीय समितिले २६ गते ७७ वटै जिल्लामा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने र २८ गते सबै जिल्ला सदरमुकाममा २ घण्टा चक्का जाम गर्ने कार्यक्रमहरू सार्वजनिक गरिएको छ ।