तिलोत्तमाका जनप्रतिनिधि र कोरियाली राजदूतबीच भेटवार्ता
वि.सं.२०७५ कात्तिक २६ सोमवार १६:२५
shares

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधि र नेपालका लागि दक्षिण कोरियाका राजदूत एचई पार्क योङ सीकबीच सोमबार मणिग्राममा छलफल भएको छ । नगरपालिकाको सेवा प्रवाह, विकास निर्माण र भावी योजनाबारे नगरपालिका र राजदूतबीच छलफल भएको हो ।
भेटघाटमा नगर प्रमुख घिमिरेले नगरपालिकामा जनप्रतिनिधि आएपछि शुरू भएका विकास निर्माण, विभिन्न अभियान तथा भावी योजनाबारे राजदूत सीकलाई जानकारी गराए । उनले नगरपालिकाले अघि सारेका ठूला योजनामा दक्षिण कोरियाली सरकारको तर्फबाट सहयोग मिल्ने विश्वास व्यक्त गर्दै यसमा सहजीकरण गरिदिन राजदूत सीकलाई आग्रह गरे ।
नगर प्रमुख घिमिरेले नेपालमा पुनः मिल्क होलिडे शुरू हुँदा किसान मर्कामा परेको उल्लेख गर्दै दूधको बजारीकरणका लागि नगरपालिकाले थ्रीपी मोडलमा दुग्ध प्रशोधन केन्द्र स्थापना गर्न खोजेको बताउँदै यसमा सघाउन राजदूत सीकमार्फत् कोरिया सरकारलाई आग्रह गरे ।
प्राविधिक शिक्षालय, क्षेत्रीय स्तरको बसपार्क, फोहोरमैला प्रशोधन केन्द्र, एकीकृृत ढल निकास योजनालगायत नगरपालिकाले अघि सारेका ठूला आयोजनामा सहयोग गर्न र कोरियाली लगानी भित्र्याउने वातावरण निर्माणमा सहजीकरण गर्न समेत राजदूत सीकलाई नगर प्रमुख घिमिरेले आग्रह गरे ।
कार्यक्रममा राजदूत सीकले स्थानीय सरकारका गतिविधिलाई आफूले नजिकबाट नियाल्ने अवसर पाएको भन्दै लुम्बिनी र व्यापारिक नाकाबाट नजिक रहेकाले तिलोत्तमा नगरपालिकामा विकासको प्रचुर सम्भावना रहेको उल्लेख गरे ।





























