मुलुक समृद्धिको यात्रामा अगाडि बढिरहेको छ : दाहाल
वि.सं.२०७५ मंसिर ७ शुक्रवार १५:१४
shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुक समृद्धिको यात्रामा अघि बढिरहेको दाबी गरेका छन्। अध्यक्ष दाहालले शिख धर्मका अनुयायीहरुको संकल्प र प्रतिवद्धताले नेपालको समृद्धिको यात्रालाई अघि बढाउन ठूलो योगदान दिने विश्वास पनि व्यक्त गरे।
शिख धर्मका संस्थापक गुरु नानकको ५ सय ४९ औं जन्मजयन्तिको अवसर पारेर शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको सडक संजाल विस्तारमा शिख समुदायले खेलेको भूमिकाको पनि खुलेर प्रशंशा गरे। उनले भारतलाई स्वतन्त्र बनाउन शिख समुदायले उल्लेख्य योगदान दिने तथ्य पनि स्मरण गराए।
शिख समुदायले आज आफ्ना गुरु नानकको जन्मजयन्तिको अवसर पारेर शुभकामना आदानप्रदान गरिरहेका छन्। त्यस अवसरमा अध्यक्ष दाहालले पनि शिख समुदायको सुःख, शान्ति र समृद्धिको कामना पनि गरे। कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मंजीवसिंह पुरी पनि सहभागी थिए।



























