अध्यादेश मार्फत कर्मचारी समायोजन नगर्न सरकारलाई कांग्रेसको चेतावनी

वि.सं.२०७५ मंसिर १० सोमवार ०८:०३
shares

काठमाडौँ । सरकारले संसद्लाई बन्धक बनाएर अध्यादेशबाट कर्मचारी समायोजन गर्न लागेको प्रति प्रमुख विपक्षी दल कांग्रेसले विरोध गरेको छ । संसद्को राज्यव्यवस्था समितिमा कर्मचारी समायोजनको विषयमा आइतबार भएको छलफलमा कांग्रेससहित सत्तारुढ दलकै सांसदले संसद्को अधिवेशन बोलाएर कर्मचारी समायोजन सम्बन्धी विधेयक टुंगो लगाउनुपर्ने बताएका छन् ।
सरकारले संसद् नडाकी अध्यादेश मार्फत आफू अनुकूल काम गर्न खोजेको कांग्रेसको आरोप छ । कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडू, मीना पाण्डे लगायत नेमकिपाका प्रेम सुवालसहित सत्तापक्षकै केही सांसदले अध्यादेशको विरोध गरेका छन् ।
सभामुख कृष्णबहादुर महराले संसद्को हिउँदे अधिवेशन पुसको पहिलो साता अघि खुल्ने सम्भावना नरहेको बताएका छन् । २१ फागुन भित्र डेढ सय बढी ऐन संशोधन गर्नुपर्ने संवैधानिक बाध्यता रहे पनि यो विषय सरकारले बुझ्नु पर्ने उनको भनार्इ छ । महराका अनुसार संसद् हलमा कुर्सी तथा माइक व्यवस्थापनको काम भइरहेको तथा २८ मंसिरबाट प्रारम्भ हुने कांग्रेस महासमिति बैठकका कारण पनि संघीय संसद्को अधिवेशन आह्वानमा ढिलाइ हुने भएको हो ।