बैठकमै रोएपछि रेणुलाई माफी : संघीय फोरम कार्यसम्पादन समितिको भेला

वि.सं.२०७५ मंसिर १० सोमवार ०९:११
shares

काठमाडौँ । पार्टीको कार्यसम्पादन समितिको बैठकमै रोएपछि संघीय फोरमकी उपाध्यक्ष रेणु यादवले माफी पाएकी छिन् । माफीसँगै उनलाई कारबाही गर्ने प्रस्ताव फोरमले औपचारिक रूपमा फिर्ता लिएको छ । गत बिहीबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकमा पार्टी कार्यालय सचिव तथा कार्यसम्पादन समिति सदस्य प्रकाश अधिकारीले रेणुलाई कारबाही गर्नुपर्ने प्रस्ताव राखेका थिए ।
अधिकारीको प्रस्तावलाई अन्य केही नेताले पनि सहमति जनाएको स्रोतको भनाइ छ । तर यस विषयमा पार्टी अध्यक्ष उपेन्द्र यादवले भने केही बोलेका थिएनन् । पार्टी केन्द्रीय समितिले दिएको निर्देशनलाई उल्लंघन गरी रेणुले गत असोज ३ मा कालो दिवस मनाउने निर्णय गरेकाले उनलाई कारबाही गर्नुपर्ने प्रस्ताव अधिकारीले बैठकमा गरेका थिए। ‘केन्द्रीय समितिले दिएको निर्देशनलाई ठाडो उल्लंघन गर्नु भनेको पार्टीमा अनुशासनहीनता ल्याउनु हो, त्यसैले रेणु माथि कारबाही होस्,’ स्रोतका अनुसार अधिकारीले बैठकमा प्रस्ताव राखेका थिए।
‘बैठकमा यस्तो प्रस्ताव आएपछि रेणु केहीबेर रोइन् । पार्टीका लागि आफूले गरेको योगदानबारे व्याख्या गर्दै उनले राजीनामा दिने घोषणा गरिन्,’ स्रोतले भन्यो, ‘त्यसपछि उनले हस्ताक्षर नगरिएको राजीनामा पार्टी अध्यक्ष यादवलाई बुझाइन् र त्यहाँबाट हिँडिन् । त्यस लगत्तै परिस्थिति बदलिएको र यादवलाई कारबाही गर्ने प्रस्ताव अधिकारीले फिर्ता लिएको स्रोतको दाबी छ । यसमा अन्य नेताहरूले पनि सहमति जनाए । रेणुले पनि राजीनामा फिर्ता लिइन् ।
उनले भनिन्, ‘आफू विरुद्ध पार्टीमा ल्याइएको प्रस्ताव फिर्ता भएपछि राजीनामा फिर्ता गरें । आफू विरुद्ध नबुझेर बैठकमा प्रस्ताव ल्याइएको उनले स्पष्ट पारिन् । पार्टी महासचिव राम साह यादवले भने उपाध्यक्ष यादवले राजीनामा नदिएको बताए । ‘उहाँ ९रेणु यादव० ले राजीनामा दिनु भएकै छैन,’ उनले भने । रासस