छोटो समयमा कसरी छिटो विकास गर्नुपर्छ, त्यो सरकारलाई थाहा छ : प्रधानमन्त्री ‘ओली’

7.68K
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको गतिलाई तीव्र रूपमा बढाइने बताउनुभएको छ । सरकारले गठन गरेको मानव संसाधन प्रक्षेपण कार्यदलको बैठकलाई सोमवार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

“विकासलाई द्रुत गतिमा कसरी बढाउनु पर्दछ भन्ने यो सरकारलाई जानकारी छ,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “छोटो समयमा कसरी छिटो विकास हुन्छ भन्ने कुरा हामी जनतालाई विश्वास हुने गरी देखाउँछौं ।”

प्रधानमन्त्री ओलीले योजनाबद्ध विकासका लागि जनशक्ति प्रक्षेपण आवश्यक रहेको समेत बताउनुभयो । “देशलाई हामी समृद्ध बनाउन चाहन्छौं । त्यसका लागि हामीलाई हरेक क्षेत्रमा कति जनशक्ति आवश्यक पर्दछ भन्ने थाहा हुनुपर्छ ।” प्रधानमन्त्री ओलीले भन्नुभयो, “यस कार्यदलले ल्याएको प्रतिवेदनले नेपालमा वर्षौंसम्मका लागि जनशक्तिको आपूर्तिलाई मार्गदर्शन गर्नुपर्दछ ।”

प्रधानमन्त्री ओलीले कार्यदलका सदस्यहरूलाई विषयको गम्भीरतालाई बुझेर अनुसन्धानमूलक र गहन अध्ययनका साथ काम गर्न निर्देशन दिनुभएको छ । “आगामी धेरै वर्षसम्म यस समितिको प्रतिवेदनलाई जनशक्ति व्यवस्थापनका लागि आधार बनाइन्छ,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “डाक्टर कति चाहिने, इन्जिनियर कति, शिक्षक कति, कृषिमा कति जनशक्ति चाहिने यी सबै कुरा तथ्यगत रूपमा समितिले ल्याउनु पर्दछ । आगामी दिनका लागि यो प्रतिवेदन निर्देशन पुस्तिका हुनेछ ।”

समितिले ल्याएको तथ्यगत प्रतिवेदनका आधारमा राष्ट्रिय योजना आयोग, मन्त्रालयहरूले पनि योजना बनाउने भएकोले यसलाई त्रुटिरहित बनाउन प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ । “अनुमानमा होइन तथ्यका आधारमा, भवितव्यमा होइन योजनबद्ध रूपमा काम गर्नुहोस्” प्रधानमन्त्रीले निर्देशनमा भन्नुभएको छ, “प्रतिवेदनमा नयाँ निष्कर्षहरू आउनुपर्दछ ।”

सरकारले विभिन्न क्षेत्रमा के कति जनशक्ति आवश्यक पर्छ त्यसलाई तथ्यगत रूपमा अध्ययन गर्नका लागि असोज २८ गते डा। रुद्र सुवालको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेकोे थियो ।

समितिका सदस्यहरूमा डा. माधव दाहाल, डा. इन्दिरा पराजुली, डा. विश्ववाला थापा, डा. विजय दत्त, डा. ध्रुव गौतम र डा. राजेश अहिराज हुनुहुन्छ । कार्यदलको निर्देशक समिति शिक्षा मन्त्रीको संयोजकत्वमा गठन गरिएको छ । समितिको म्याद चार महिना छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083