वाइडवडी विमान खरिदमा अनियमितता गर्नेमाथि कारवाही गर्ने चेतावनी

वि.सं.२०७५ मंसिर १२ बुधवार १६:०१
shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले वाइडवडी विमान खरिदमा अनियमितता गर्नेमाथि सरकारले कडा कार्वाही गर्ने चेतावनी दिएका छन्। मन्त्री अधिकारीले सो विमान खरिद प्रकरणको छानवीन गरिरहेका संसदीय समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि गम्भिरतापूर्वक छानवीन गरी सत्यतथ्य बाहिर ल्याउन आग्रह गरे।
बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले नेपाल एयेरलाइन्सलाई कम्जोर बनाउने नियतका साथ छानवीन गर्ने काम भने नगर्न पनि पटक–पटक सम्बन्धित निकायलाई सचेत गराए। मन्त्री अधिकारीले सो विमान खरिद प्रक्रियामा आफ्नो संलग्नता नरहेको दोहोर्याउँदै गलत गर्नेमाथि कडा कार्वाही गर्न मन्त्रालय तयार रहेको दाबी गरे। उनले छानवीन गर्ने निकायलाई सरकारले आवश्यक सहयोग गरिरहेको बताए।
मन्त्री अधिकारीले संसदीय समिति, अख्तियारलगायतका छानवीन गर्ने निकायको प्रतिवेदन नआएसम्म सो सम्बन्धमा धैर्यता गर्न पनि सबैलाई आग्रह गरे। उनले नेपाल एयरलाईन्सलाई प्रभावकारी बनाउन रणनीतिक साझेदारीको खोजी भइरहेको पनि जानकारी दिए। मन्त्री अधिकारीले आगामी मार्च भित्र वाईडबढि विमानलाई ‘फूल फेज’मा संचालन गर्ने योजना पनि अघि सारे। मन्त्री अधिकारीले सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन नयाँ नयाँ गन्तव्यको खोजी कार्यलाई तीव्रता दिइएको दाबी गरे।
मन्त्री अधिकारीले नौ महिना भित्र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य सम्पन्न गर्ने पनि बताए। मन्त्री अधिकारीले पर्यटन क्षेत्रको विकासका लागि सरकारले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको कामलाई पनि सुरु गर्ने तयारी गरिरहेको बताए।