सङ्घीय संसद्को अधिवेशन बोलाउन प्रतिपक्षको माग

4K
shares

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले जति सक्दो चाँडो सङ्घीय संसद्को हिउँदे अधिवेशन बोलाउन माग गरेको छ। काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कानून निर्माणलगायत मुलुकका जल्दाबल्दा र जनसरोकारसँग सम्बन्धित विषयमा छलफल र बहस आवश्यक रहेकाले यथाशक्य छिटो संसद्को अधिवेशन बोलाउन आवश्यक रहेको बताए।

रासससँग कुरा गर्दै नेता खाँणले भने, “संसद्को अधिवेशन बोलाउने सन्दर्भमा सरकारले प्रमुख प्रतिपक्षसँग हालसम्म कुनै परामर्श गरेको छैन, संसद्को बैठक नचलेको लामो अवधि भइसक्यो, पुराना ३०० भन्दा बढी कानून संविधानसम्मत तुल्याउनुपर्ने, प्रदेश र स्थानीय तहसँग प्रत्यक्ष सरोकार राख्ने अरु थुप्रै कानून बनाउनुपर्नेछ, त्यसैले जतिसक्यो चाँडो बैठक बोलाउनुपर्छ ।”

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवास नेम्वाङले अहिले संसद् बैठक कक्षका सिट र त्यहाँ जडान भएका माइकलगायत उपकरणको मर्मत र सुधारको काम सकिनासाथ सरसल्लाह गरेर अविधेशन आह्वान हुने बताए। उनले भने– “अब जति सक्यो छिटो संसद्को अधिवेशन बोलाउनुको विकल्प रहे पनि विभिन्न कारणले पुसको दोस्रो सातासम्ममा अधिवेशन बोलाइने छ ।

नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ भन्छन्, “अधिवेशन बोलाउने काम सरकारको हो, तयारी गरिरहेको छ, संसद् भवनभित्र मर्मत र सुधारका काम चलिरहेका छन्, संसद् छिटो सञ्चालन गर्नुपर्छ भन्नेमा सरकार सकारात्मकै छ ।

राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले प्रमुख प्रतिपक्ष दलको विधान समितिको बैठक सकिनासाथ दलबीचको सल्लाहमा संसद्को अधिवेशन हुने बताउछन्। सङ्घीय संसद्को पहिलो अधिवेशन प्रारम्भ भएको एक वर्षभित्र नेपालको संविधानसँग बाझिने कानून स्वतः निष्क्रिय हुने संवैधानिक व्यवस्थानुसार उक्त मिति अघि नै झण्डै ३३९ कानून संशोधन तथा प्रदेश र स्थानीय तहसम्बन्धी थुप्रै कानून आगामी अधिवेशनबाट निर्माण गर्नुपर्नेछ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डे भन्छन्, “संविधानअनुसार फागुनभित्र धेरै पुराना कानून संशोधन तथा सङ्घ, प्रदेश र स्थानीय तहको साझा सूचीमा रहेको नयाँ कानून निर्माण गर्नुपर्ने भएकाले त्यस पक्षलाई विचार पु–याए उपयुक्त समयमा अविधेशन चल्नेछ ।


Mitsubishi Long Ad