५ वर्षभित्र सबै भूमि समस्या समाधान हुन्छ : भूमि व्यवस्था मन्त्री अर्याल
वि.सं.२०७५ मंसिर १८ मंगलवार १७:२५
shares

धनगढी । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पदमाकुमारी अर्यालले ५ वर्षभित्र भूमि सम्बन्धी सबै समस्या समाधान हुने दाबी गरेकी छिन् । मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्यालले शक्तिशाली आयोग बनाएर भूमिसँग सम्बन्धित समस्या समाधान गर्न दाबी गरेकी हुन् ।
‘सुकुम्वासी समस्या समाधान र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने मन्त्रालयको मुख्य विषयवस्तु हो । हामी भूमि ऐन संशोधनमा भूमि सम्बन्धी समस्या समाधानको लागि एउटा शक्तिशाली आयोगको परिकल्पना गरेर अगाडि बढेका छौं,’ मन्त्री अर्यालले भनिन्, ‘शक्तिशाली आयोग बनाएर फिल्डमा जान्छौं । ५ वर्षभित्र भूमि सम्बन्धी समस्या समाधान गर्छौं ।’
उनले भूमि सम्बन्धी समस्या विकासको बाधक भएको बताइन् । पहाडभन्दा तराईमा भूमि सम्बन्धी समस्या धेरै रहेको बताउँदै उनले अगाडि थपिन्, ‘तराईको धेरै ठाउँमा ठूला–ठूला शहर बनेका छन् । ३०र३५ वर्षदेखि मानिसहरूको बसोबास रहँदै आएको छ । तर लालपूर्जा पाएका छैनन् । त्यहाँबाट सरकारले हटाउने कुरा पनि हुँदैन । मान्छे एकखालको तनावमा छन् । मान्छेको स्थायित्व नभएसम्म विकास असम्भव भएकाले यो समस्या कसरी समाधान गर्न सकिन्छ भनेर हामी लागेका छौं ।
मन्त्रालयको प्रदेश स्तरीय समिक्षा गोष्ठीलाई सम्बोधन गर्न धनगढी पुगेकी मन्त्री अर्यालले गरीब परिचयपत्र पनि छानबिन गरिने बताइन् । गरीबको सेवा लिन धनीको घुसपैठ भएको भनी स्थानीय तहले सिफारिस गरेको खण्डमा मन्त्रालयले ठाडै हटाउने बताइन् । मन्त्री अर्यालले सहकारीबाट उत्पादित, सहकारीको मोडेलबाट निर्मित वस्तुको बजारको ग्यारेन्टी सरकारले लिने बताइन् ।












