नेपाली जहाजलाई युरोपको प्रतिबन्ध चाँडै हट्छ : मन्त्री अधिकारी

8.02K
shares

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले युरोपेली सङ्घ ९इयू०ले नेपाली जहाजलाई युरोपका आकाशमा गर्दै आएको प्रतिबन्ध चाँडै हट्ने बताएका छन्। हेलिकप्टर सोसाइटी अफ नेपालको मङ्गलबार उद्घाटन गर्दै मन्त्री अधिकारीले इयूका पदाधिकारीसँग हालै भएको छलफलका आधारमा प्रतिबन्ध हट्ने विश्वास व्यक्त गरेका हुन्।

उनले भने, “इयूले भनेअनुसार पाँच वर्षदेखिको अभ्यास र उसको मापदण्डअनुसार सुधार गरेका छौँ, हालै इयूका अधिकारी, कूटनीतिक नियोग र उच्चपदस्त अधिकारीसँग पनि कुराकानी गरेको छु, मलाई विश्वास छ छिट्टै नै इयूले नेपालको उड्डयनलाई कालोसूचीबाट हटाउनेछ।” सन् २०१३ को डिसेम्बरदेखि इयूले नेपाललाई उडान प्रतिबन्ध गर्दै आएको थियो।

उसले एक साताअघि सार्वजनिक गरेको उडान प्रतिबन्ध हुने देशको सूचीमा नेपालसहित १५ देशलाई समावेश गरेको छ। यी देशका ११५ वायु सेवा प्रदायक कम्पनीले युरोपका आकाशमा उडान भर्न नपाउने प्रतिवेदनमा उल्लेख छ। सन् २०१३ मै आइकाओले सुरक्षा चासो राखेकामा गत वर्ष हटाएको थियो।

हेलिकप्टर सोसाइटी स्थापना

हेलिकप्टर उद्योगको व्यावसायिक विकास तथा हवाई सुरक्षा अभिवृद्धिमा सहयोग गर्ने उद्देश्यले हेलिकप्टर सोसाइटी अफ नेपाल स्थापना गरिएको छ। सो संस्थाले हेलिकप्टर क्षेत्रमा आइपर्ने विभिन्न समस्याका समाधान गर्न नियामक निकायको सहयोग र समन्वयमा काम गर्ने जनाएको छ।

सोसाइटीको उद्घाटन गर्दै पर्यटनमन्त्री अधिकारीले व्यावसायिक उड्डयन सुरक्षा अभिवृद्धि गर्न सङ्गठनले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए। भौगोलिक अवस्थितिले नै नेपालमा हेलिकप्टरको औचित्यलाई पुष्टि गरेको उल्लेख गर्दै उनले यसैलाई मध्यनजर गरी सरकारले देशभरका स्थानीय तहमा हेलिप्याड बनाउने कार्यक्रम अघि सारेको र यसलाई सार्थक तुल्याउन व्यवसायीको सक्रियता चाहिने बताए।

पुराना पाइलट सम्मानित

सोसाइटीले नेपालको उड्डयन क्षेत्रमा उल्लेख्य योगदान गर्ने व्यक्तित्वलाई सम्मान गरेको छ। नेपालकै पहिलो हेलिकप्टर पाइलटतर्फ क्याप्टेन रवीन्द्रप्रसाद प्रधान, वायुयान मर्मततर्फ पूर्व ब्रिगेडियर जनरलद्घय पुष्पबहादुर केसी र गुञ्जमान लामा, क्याप्टेन विकास जेबी राणालाई सम्मान गरियो। त्यसैगरी इञ्जिनीयरतर्फ महेशकुमार नकर्मी, ओमप्रसाद श्रेष्ठ, विष्णु बस्नेतलाई सम्मान गरिएको छ।

यसैगरी फ्लाइट अपरेशन अधिकृत (डिस्प्याचर्स) तर्फ भक्ति श्रेष्ठ र एयर ट्राफिक कन्ट्रोलर नारायणबहादुर सिंह डङ्गोललाई सम्मान गरिएको छ। कार्यक्रममा क्याप्टेन थापाले हेलिकप्टर क्षेत्रले भोगेको विभिन्न समस्याको निकारण गर्न सम्बन्धित निकायले आवश्यक सहयोग गर्नुपर्ने बताउँदै यस क्षेत्रको विकासमा सोसाइटी सधैँ सरोकारवालासँगको सहयोगीको भूमिकाका साथ सहकार्य गर्न तत्पर रहनेछ भने।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083