फागुनभित्रै नेपालमा रेल चल्ने मन्त्री महासेठको दावी

5.29K
shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले आउँदो माघ फागुनभित्रै नेपालमा रेल चल्ने बताएका छन् । जयनगर–जनकपुरको कुर्थासम्म ३५ किलामिटरको काम लगभग सकिएको भन्दै उनले माघ फागुनभित्र रेल चल्ने दावी गरेका हुन् ।

बिहीबार प्रतिनिधिसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा राष्ट्रिय गौरवका आयोजनाहरुका बारेमा भएको छलफलमा मन्त्री महासेठले भने, ‘माघ–फागुनसम्म रेल सञ्चालन भइसक्छ, हामीले छिटो सञ्चालनमा ल्याउने गरी काम गरिरहेका छौं ।’ जयनगर–जनकपुर रेल सेवा यही मंसिरभित्रै सञ्चालन गर्ने भनिएको थियो । तर, रेल भाडामा लिने कि सरकार आफैंले किनेर चलाउने भन्ने विषयमा अन्यौल देखिएको थियो ।

भारतको सरकारी निकायसँग रेल भाडामा लिएर रेल चलाउने प्रक्रिया अपनाइएकोमा रेलको गुणस्तर र लागतसमेत बढी पर्न जाने देखिएपछि सरकारले रेल खरिद गरेर चलाउने निर्णय भएको थियो । भाडामा लिएर डिसेम्बरभित्रै रेल सञ्चालन गर्न यसअघि ५० करोड बजेट छुट्याइएकोमा यातायात मन्त्रालय र रेल्वे विभागले रेल किन्न थप रकम माग गरेका थिए ।

माग बमोजिम ५० करोड थप बजेट निकासा गर्न अर्थ मन्त्रालय तयार भएको यातायात मन्त्रालय स्रोतले बतायो । भाडामा लिँदा र आफैंले किन्दा बराबरीजस्तै देखिएपछि मन्त्रालय र विभाग रेल खरिद गर्ने निर्णयमा पुगेका थिए ।

हाललाई ७२ जनासम्म अट्न सक्ने १० डब्बाको रेल किन्ने सरकारको योजना छ । तर, नयाँ रेल किनेर ल्याउन समय लाग्ने भएकाले तत्काललाई भाडामै लिएर फागुनभित्रै जनकपुर–जयनगर रेल सञ्चालन गर्ने मन्त्री महासेठको भनाइ छ । बैठकमा मन्त्री महासेठले ४ वर्षभित्र ६ वटा राष्ट्रिय गौरवका आयोजना सम्पन्न भइसक्ने दाबी गरेका छन् । हुलाकी लोकमार्ग, पुष्पलाल लोकमार्ग, तराई मधेस द्रुत मार्ग, कोशी लोकमार्ग, कालीगण्डकी कोरिडोर, कर्णाली लोकमार्ग, रेल्वे तथा मेट्रो विकास आयोजना ४ वर्षभित्र सम्पन्न हुने उनको भनाइ छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083