भ्रष्टाचार नियन्त्रणका लागि ‘उच्चस्तरीय सम्पत्ति छानवीन आयोग’ माग
वि.सं.२०७५ मंसिर २३ आइतवार १५:०१
shares

काठमाडौं । नागरिक समाजका अगुवाहरुले भ्रष्टाचार नियन्त्रणका लागि ‘उच्चस्तरीय सम्पत्ति छानवीन आयोग’ गठन गर्न सरकारसँग माग गरेका छन्। भ्रष्टाचारविरुद्ध ऐक्ववद्ध नागरिक समाजले आइतबार प्रधानमन्त्री केपी ओलीलाई ध्यानाकर्षण पत्र बुझाउँदै भ्रष्टाचार नियन्त्रणका लागि उच्च स्तरीय सम्पत्ति छानवीन आयोग गठन गर्न माग गरेको हो।
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर प्रधानमन्त्री ओलीलाई भेट्न सिंहदरबार पुगेका समाजका पदाधिकारीले भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रभावकारी बनाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए। भ्रष्टाचारको डरलाग्दो अवस्थाबाट मुलुकलाई जोगाउन तत्काल उच्चस्तरीय सम्पत्ति छानवीन आयोग गठन गर्न सरकारसँग माग गरिएको भ्रष्टाचार विरुद्धका अभियन्ता केदार खड्काले जानकारी दिए।
यता, प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणका लागि आफू प्रतिवद्ध रहेको बताएका थिए। उनले भ्रष्टाचार नियन्त्रणका लागि आफूले असहिष्णु नीति लिएको र त्यसलाई प्रभावकारी कार्वान्वयन गर्न पूरै शक्तिका साथ काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरे। प्रधानमन्त्री ओलीले देश बनाउने अभियानमा सरकार जुटेको उल्लेख गर्दै त्यसमा साथ दिन पनि सबैलाई आह्वान गरे।




























