‘बीपीको सपना अधुरो छ, म सभापतिमा उठ्छु’ : महामन्त्री शशांक

5.12K
shares

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेसका संस्थापक नेता तथा आफ्ना पिता बीपी कोइरालाको अधुरो सपना साकार पार्न १४ औं महाधिवेशनमा सभापतिमा उठ्ने बताएका छन्।

कांग्रेसको जारी केन्द्रीय समितिमा भाग लिन बिहीबार पार्टी मुख्यालय सानेपा आएका महामन्त्री कोइरालाले पत्रकारहरूसँग आफू मेडिकल क्षेत्रबाट राजनीतिमा होमिनुको कारण बीपीको सपना साकार पार्नु रहेको बताए।

‘मैल राजनीति गर्नु परेको बीपीको अधुरो सपनालाई साकार पार्न हो। प्रतिष्ठित मेडिकल क्षेत्र छाडेर म राजनीतिमा आएको हुँ,’ महामन्त्री कोइरालाले भने, ‘बीपीको अधुरो सपना पूरा गर्न निश्चय नै म सभापतिमा उठ्छु।’ महाधिवेशन आउन दुई वर्ष बढी समय बाँकी रहेकाले साथीहरूको सल्लाहअनुसार आफू अघि बढ्ने उनले बताए।

महामन्त्री कोइरालाले जो-जो बीपीको सिद्धान्तमा अविचलित भएर लागिरहेका छन् उनीहरु सभापतिका लागि सक्षम रहेको तर्क गरे। ‘बीपीको सिद्धान्तमा अविचलित भएर लागिपरेका साथीहरू सबै कोइराला परिवारका सदस्य हुन्। मेरो त रगतको नातामात्रै हो,’ कोइरालाले भने, ‘धेरै साथीहरूले तपाईं सभापति हुनुपर्छ भन्नुभएको छ, त्यतिले पुग्दैन। हाम्रा साथीहरूको राय के छ, त्यसमा निर्भर रहन्छ।’

शुक्रबारदेखि सुरू हुने महासमिति बैठकले पार्टीलाई थप गति दिने कोइरालाले बताए। ‘कम्युनिष्टसँग भिड्ने हो,’ उनले भने, ‘वडा तहमा रहेका साथीहरू, क्रियाशील सदस्य सबैलाई मूल धारमा ल्याउँछौं, पार्टी व्यवस्थित हुन्छ।’ महाधिवेशन नआउन्जेल सभापति शेरबहादुर देउवालाई सहयोग गरेर अघि बढ्ने पक्षमा आफू रहेको पनि उनले बताए। ‘अहिलेको सभापतिलाई सपोर्ट गर्ने हो। पछि साथीहरुको राय सुझावअनुसार अघि बढ्छु,’ उनले भने।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083