कांग्रेस पदाधिकारी बैठक जारी, केन्द्रीय समिति बस्न नसक्दा महासमितिको बन्दसत्र स्थगित
वि.सं.२०७५ पुस २ सोमवार १३:४६
shares

काठमाडौं । विधान संशोधन मार्फत पदाधिकारीको संख्या बढाउने तयारीमा लागेको नेपाली कांग्रेसमा पदाधिकारीको निर्वाचन प्रक्रियाको विषयमा सहमति जुटन नसक्दा महासमिति बैठकको बन्दसत्र प्रभावित भएको छ । केन्द्रीय समितिको बैठक बस्न भन्दै सभापति शेरबहादुर देउवा हिडेपछि महासमिति बैठकको बन्दसत्र बिहान १० बजेदेखि स्थगित भएको हो । सभापति र पदाधिकरी उपस्थित नभइ बोल्नुको औचित्य नहुने भन्दै महासमिति सदस्यहरुले विरोध जनाएपछि बन्दसत्र स्थगित भएको हो ।
बिहान ५ जनाले आफ्नो धारणा राखेपछि बन्दसत्र स्थगित भएको महासमिति सदस्य रामहरि खतिवडाले लोकान्तरलाई जानकारी दिए । केन्द्रीय समितिको बैठकको लागि भन्दै निस्केका पदाधिकारीहरुको छुट्टै बैठक सिंहदरवारस्थित संसदीयदलको कार्यालयमा बसिरहेको छ । पदाधिकारीको बैठक सकिएपछि मात्र केन्द्रीय समितिको बैठक शुरु हुने केन्द्रीय सदस्य रामकृष्ण यादवले लोकान्तरलाई जानकारी दिए ।
पदाधिकारीको संख्या थप, प्रत्यक्ष निर्वाचन गर्ने कि सभापतिले मनोनयनगर्ने भन्ने विषयमा संस्थापन र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच सहमति जुटन सकेको छैन । विधान संशोधन तथा पार्टीको भावी रणनीति तय गर्न कांग्रेस महासमिति बैठक गत शनिवारदेखि जारी छ । भोलिसम्म चल्ने भनिएको बैठक एक दिनलम्बिन सक्ने कांग्रेस स्रोतले बतायो ।













