नेकपाको स्थायी कमिटीको बैठकमा ‘गायत्री मन्त्र’ को चर्चा

5.4K
shares

काठमाडौँ । बिहीबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको पाँचौं दिनको बैठकमा बोल्ने सदस्यहरूले पार्टीलाई विधि र पद्धतिमा नचलाएको आरोप लगाएका छन् ।

विहीबार बोलेका चार नम्बर प्रदेशका मन्त्रीसमेत रहेका किरण गुरुङले पार्टी चलाउने विधि र पद्धति ‘गायत्री मन्त्र’ जस्तो कर्मकाण्डी भएको आरोप लगाए । उनले गायत्री मन्त्र जपेजस्तो गरेर कम्युनिष्ट पार्टी चल्न नसक्ने बताए ।

‘पार्टी एकीकरण त भयो तर पोलिटब्यूरो गठन भएको छैन, प्रदेश कमिटीमा विवाद छ, यसलाई निश्चित मापदण्डमा रहेर हल गर्नुपर्ने हो, तर त्यस्तो हुन सकेको छैन’ गुरुङले भने,‘ हामी बढी कर्मकाण्डी बनेका छौं,सरकारले राम्रो काम पनि गरिरहेको छ तर जनता समक्ष ति कामको फेहरिस्त पुग्न सकेको छैन ।’

समृद्ध नेपाल निर्माण गर्ने काममा सरकार र पार्टीको एउटै स्वर हुनुपर्ने धारणा गुरुङको छ ।सचिवालय निरङ्कुश बनिरहेको आरोपलाई गुरुङ स्वीकार गर्दैनन् । ‘यो कुनै कार्यालय मात्र चलाउन बनेको सचिवालय होइन । यो सचिवालयको काँधमा यति ठूलो पार्टी, दुई तिहाईको सरकार र देशलाई समृद्धिको मार्गमा हिँडाउने जिम्मेवारी छ त्यसैले सचिवालयलाई निरङ्कुश बनेको आरोप लगाउन मिल्दैन’ गुरुङ भन्छन्,‘ तर सचिवालय सदस्यहरू एक आपसमा असन्तुष्ट हुने, झगडा गर्ने काम चाहिं गर्नुहुँदैन, हामीले त्यही सुझाव दिएका छौं ।’

स्थायी कमिटीकी नेतृ पम्फा भुषाल सरकारको लागि एउटा सांस्कृतिक आचारसंहिता बनाउनुपर्ने बताउँछिन् । ‘केही दिन अघि क्रिश्चियन धर्मप्रचारक संस्था युपिएफको कार्यक्रममा सरकारको संलग्नतालाई धेरैले पचाएनन्,’ भुषाल भन्छिन्,‘ यो प्रकरणमा सरकार सांस्कृतिक रूपमा नराम्रोसँग चुकेको छ, त्यसलाई सच्याउन एउटा सांस्कृतिक मापदण्ड बनाउन जरुरी छ ।’

बैठकमा बोल्ने अन्य सदस्य झै भुषालपनि सरकारको काम कारवाही प्रति सन्तुष्ट छैनन् । ‘सरकारले लोकप्रियता गुमाउँदै गएको छ, केन्द्र सरकार मात्र होइन, प्रदेश र स्थानीय निकायका सरकारहरू पनि लोकप्रिय हुन सकेका छैनन्’, भुषालले बैठकमा भनिन्, ‘यस विषयमा गम्भीर समीक्षा गर्नुपर्ने जरूरी छ ।

कर्मचारी समायोजनको विषयलाई लिएर सिंहदरबारमा भइरहेको आन्दोलनको व्यवस्थापन गर्न पनि सरकार चुकेको उनको आरोप थियो । बिहीबारको बैठकमा बोल्ने अधिकांश स्थायी कमिटीका सदस्यहरूले अध्यक्षद्वयको प्रतिवेदनलाई बैठकमा आएको सुझावका आधारमा संशोधन गरेर नयाँ दस्तावेज बनाउन आग्रह गरेका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा शनिबारदेखि जारी बैठकमा बिहीबारसम्म ३६ स्थायी कमिटी सदस्यहरूले आफ्नो धारणा राखिसकेका छन् । बिहीबारकिरण गुरुङ, पेशल खतिवडा, अमृतकुमार बोहरा, पम्फा भुसाल, लिलामणी पोखरेल, चक्रपाणी खनाल, माृतका यादव र विष्णु रिमालले आफ्ना भनाइ राखेका थिए । बैठक भोलि विहान ८ बजे पुन बस्ने छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083