सरकारले काम गरिरहेको भन्दै निरास नहुने प्रधानमन्त्रीको आह्वान
वि.सं.२०७५ पुस १३ शुक्रवार १६:३६
shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई समृद्ध बनाउन सरकारले स्पष्ट नीति, योजना र कार्यक्रमका साथ काम गरिरहेको दावी गरेका छन्। प्रधानमन्त्री ओलीले सरकार मुलुकलाई अघि बढाउन लागि परेको उल्लेख गर्दै निराश नहुन पनि सबैलाई आह्वान गरे। उनले चालू आर्थिक वर्ष भित्र मुलुकमा असाधारण आर्थिक वृद्धि गर्ने दाबी गरे।
कृषिमा नौं प्रतिशत आर्थिक वृद्धिदर चालू आर्थिक वर्ष भित्र गर्ने प्रधानमन्त्री ओलीको महत्वकांक्षी योजना छ। शुक्रबार काठमाडौंमा आयोजित संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको तेस्रो श्रम संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्सार नाकाहरुबाट आयात घटन सुरु गरेको र राजस्व तीन गुणाले वृद्धि भएको उल्लेख गर्दै यसले असाधारण आर्थिक वृद्धिदरको संकेत दिएको दाबी गरे।
प्रधानमन्त्री ओलीले नौं महिनाको अवधिमा कानुन निर्माण र संस्थागत संरचना निर्माणमा ध्यान दिनु परेकाले विकास, निर्माणको कामले गति लिन नसकेको उल्लेख गर्दै अव रफ्तारका साथ अघि बढाउने प्रतिवद्धता व्यक्त गरे। उनले सरकार ‘कठैबर’ भन्ने अवस्थामा नरहेको उल्लेख गर्दैै दुनिँयाले सोचेभन्दा तीव्र गतिका साथ आर्थिक वृद्धि गर्ने दावी गरे। प्रधानमन्त्री ओलीले सरकारले भ्रष्टाचार नियन्त्रणमा उल्लेख प्रगति गरेको दावी गरे।




























