प्रस्तावित प्रधानन्यायाधीश जवराको संसदीय सुनुवाइ आइतबार

5.4K
shares

काठमाडौँ। सङ्घीय संसद् मातहतको संसदीय सुनुवाइ समितिले आज प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई प्रधानन्यायाधीश बनाउन हुन्न भनी उजुरी हाल्ने उजुरीकर्तासँग छलफल गरेको छ। नौ जना उजुरीकर्तालाई आ–आफ्नो उजुरीको पुष्टि गर्न समितिले बैठकमा बोलाएर छलफल गरेको हो। संवैधानिक परिषद्ले सर्वोच्च अदालतमा तीन वर्ष सेवा अवधि पुगेको वरिष्ठतम् न्यायाधीशका रुपमा सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा जवराको प्रस्ताव गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो।

समितिले सूचना प्रकाशित गरी यही पुस ११ गतेसम्म उनको नाममा उजुरीका लागि आह्वान गरेकामा नौ जनाले उजुरी दर्ता गराएका थिए। कार्य सम्पादनका क्रममा प्रस्तावित प्रधानन्यायाधीश राणाले संविधान, ऐन र नियमविपरीत व्यक्ति विशेषबाट प्रभावित भएर मुद्दाको निर्णय गरेको हुँदा यस्तो पात्र प्रधानन्यायाधीशजस्तो गरिमामय पदमा नियुक्त गर्नु उपयुक्त नहुने उजुरीकर्ताले बैठकमा तर्क प्रस्तुत गरेका थिए।

उजुरीकर्तासँगको छलफलपछि समितिले प्रस्तावित प्रधानन्यायाधीश जवरालाई संसदीय सुनुवाइका लागि आगामी आइतबार २ बजे बोलाउने निर्णय गरेको छ। बैठकपछि समितिका सदस्य जीतेन्द्रनारायण देवले उजुरीकर्तासँग उजुरीको व्यहोरा, व्याख्या र थप जानकारी लिने काम सकिएपछि प्रस्तावित प्रधानन्यायाधीशलाई संसदीय सुनुवाइका लागि आगामी आइतबार बोलाउने निर्णय भएको जानकारी दिए। रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083