‘जनतालाई भ्रमित पार्न पराजित शक्तिले दश गुणा बढी तागत दिलायो’ : प्रचण्ड

5.69K
shares

बुटवल । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादका लागि आफूहरू नयाँ पहाड चढ्न लागेको बताएका छन् ।

अहिलेसम्म कोही नचढेको अफ्ठ्यारो पहाडमा आफूहरू चढ्न लागेको उनको जिकर छ । लोक अभियान पाक्षिक पत्रिकाको आइतवार बुटवलमा लोकार्पण गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हामी नयाँ मिसनका साथ अगाडि बढदै छौं । समाजवादको ऐतिहासिक मोडमा रहेकोले त्यसलाई पूरा गर्न कोही नचढेको पहाडमा उक्लिँदैछौं ।’ पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले वर्तमान सरकार समाजवादको दिशामा अगाडि बढेको समेत बताए ।

जनताबाट पराजित भएको शक्तिले वर्तमान सरकारलाई भ्रमित पार्न दशगुणा तागत लगाएको उनको आरोप छ । ‘जनताबाट पराजित भएको वर्ग जनतालाई भ्रमित पार्न दशगुणा तागत लगाएर अगाडि आउन खोज्छ,’ घुमाउरो शैलीमा कांग्रेसलाई लक्षित गर्दै उनले भने ।

अध्यक्ष प्रचण्डले थपे, ‘जनमतलाई कमजोर पार्ने, उल्ट्याउन खोज्ने र पुरानै सत्ता स्थापित गर्न खोज्नेविरूद्ध जनमतलाई स्पष्ट गर्न जरूरी छ ।’ त्यसको माध्यम पत्रकार र सञ्चार क्षेत्र भएको उनले बताए । नेपालका सामु अवसर र चुनौती दुवै भएको उनको भनाइ छ ।

अहिलेको सरकारले देशलाई सुखद् भविश्यतिर लैजान्छ कि आफैँ अस्ताएर जान्छ भन्ने जनतामा चिन्ता देखिएको भन्दै उनले आफूहरूलाई एकीकृत भएर अगाडि बढने दायित्व भएको बताए । सत्य कुरा बुझाउने र जनतालाई सुसुचित पार्ने दायित्व पत्रकारले निर्बाह गर्नुपर्ने दाहालको भनाइ छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083