नेकपा गण्डकी प्रदेशसभाको प्रमुख सचेतकमा अधिकारी
वि.सं.२०७५ पुस २५ बुधवार १३:१२
shares

कास्की । गण्डकी प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको प्रमुख सचेतक चयन गरेको छ । नेकपा कास्कीको जिल्ला पार्टी कार्यालयमा मंलवार साँझ सम्पन्न संसदीय दलको बैठकले प्रमुख सचेतकमा मायानाथ अधिकारी र सचेतकमा गायत्री गुरुङलाई चयन गरेको हो ।
तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच गत जेठ ३ गते पार्टी एकतापछि दलको नेतामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ चयन भइसकेका थिए । नेकपामा दलको उपनेता र संसदीय बोर्डको गठन गर्न बाँकी छ ।
अधिकारी यसअघि पनि नेकपा एमालेका तर्फबाट दलको प्रमुख सचेतक हुन् भने गुरुङ माओवादीका तर्फबाट प्रमुख सचेतक रहेका थिए । दलको बैठकमा सरकारको काम कारवाही, अन्तरप्रदेश समन्वय परिषद्को हालै सम्पन्न भएको बैठकका निर्णय लगायतका विषयमा दलका नेतासमेत रहेका मुख्यमन्त्री गुरुङले सदस्यलाई जानकारी गराएको सदस्य बरालले जानकारी दिए ।






























