विवेकशील साझाको आरोप : छापामार शैलीमा पार्टी फुटाइयो
वि.सं.२०७५ माघ १ मंगलवार १५:४३
shares

काठमाडौं । विवेकशील साझा पार्टीले उज्जल थापा समूहले छापामार शैलीमा पार्टी फुटाएको आरोप लगाएको छ ।
पार्टी फुटपछि बसेको केन्द्रीय कार्यसमितिको बैठकले विवेकशील र साझा पार्टीको एकता भएको डेढ वर्षसम्म पनि भावनात्मक रुपमा एकता हुन नसकेको निश्कर्ष निकालेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. सूर्यराज आचार्यले भने, ‘जसरी विवेकशील नेपाली दलका १६ जना अलग भएर जानुभयो । यसले एउटा समूह भवनात्मक रुपमा नजोडिएको र अलग दृष्टिकोण थियो भन्ने प्रष्ट भएको छ ।’
पार्टीलाई भावनात्मक रुपमा एक गराउन नसक्नु सामूहिक कमजोरी भएको उनले स्वीकार गरेका छन् । पार्टीमा देखिएको विश्वासको संकटलाई राजनीतिक रुपमा नभई संचनागत रुपमा सम्बोधन गर्न खोज्नु आफूहरुको कमजोरी भएको पनि उनले बताए । अलग हुने भएपछि हार्दिकका साथ छुटिन सकिने भएपनि नेताहरुले छापामार शैली अपनाएको उनको आरोप छ । ‘हामीले ३० गते छलफल गर्ने सोचेका थियौं तर, छापामारशैलमिा एकै पटक निर्वाचन आयोगमा दर्ता भयो रे भन्ने सूचना पायौं’ उनले भने ।
प्रवक्ता डा. आचार्यले पार्टी फुट्नु दुःखद भएको तर, आफू हतास भने नभएको दाबी गरे । ‘हामीलाई जनताले आशाको रुपमा हेरेका थिए, त्यसमा ठेस लाग्यो । हाम्रो चिन्ता यसमा हो’ उनले भने, ‘तर, हामी हतास भएका छैनौं, आफ्नो लक्ष्यमा दृढ छौं ।’ उज्वल थापा समूहले लगाएको ५ जना केन्द्रीय सदस्य थपेर आफ्नो पक्षमा बहुमत पुर्याउन खोेजेको, पेलेको जस्ता आरोपहरुको विवेकशील साझा पार्टीले खण्डन गरेको छ ।
प्रवक्ता आचार्य भन्छन्, यस्तो अंक गणितको राजनीति त हामीलाई थाहै छैन । पुरानो राजनीति त बरु छुटेर जाने साथीहरुले राम्रोसँग जान्नु भएको रहेछ ।’




























