‘कर्मचारी कुटेर संघीयता सफल हुँदैन’ : नेता जोशी
वि.सं.२०७५ माघ २ बुधवार १३:००
shares

धनुषा । प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता नविन्द्रराज जोशीले प्रदेश नम्बर २ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झामाथि गरेको कुटपिटको घटना आपत्तिजनक रहेको बताएका छन् । नेपाल प्रेस यूनियन धनुषाले बुधबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा नेता जोशीले कर्मचारीलाई कुट्दैमा संघीयता सफल नहुने बताए । उनले संघीयतालाई धरापमा पार्न प्रदेश र संघीय सरकार लागिपरेको आरोप पनि लगाए ।
‘‘प्रदेश सरकार दमनकारी मानसिकताबाट प्रताडित भएको छ । सचिव झालाई कुट्नु अपराध हो । उनले जे जस्ता कुरा गरेपनि कुट्नु त अपराध नै हो,’’ कांग्रेस केन्द्रीय सदस्य जोशीले भने । उनले संविधानले आम नागरिकको स्वाभिमान, व्यक्तिगत भावनाको कदर र व्यक्तिको सुरक्षा गर्नुपर्ने भने पनि सचिवजस्ता कर्मचारीलाई मन्त्री यादवले कुटेर दमन, अपहेलना, अपमान र संविधानको मर्म विपरित काम गरेको दावी गरे ।
जोशीले संघदेखि प्रदेश सरकारसमेत मनोमानी ढङ्गले मिडियालाई आफ्नो नियन्त्रणमा लिन विभिन्न हत्कण्डा अपनाउन लागिपरेको आरोप लगाए । कांग्रेस नेताका नाममा रहेका अस्पतालको नाम परिवर्तन गरिए सरकारविरुद्ध कडा प्रतिवाद गर्ने उनले चेतावनी दिए ।





























