‘नेपालमा आधुनिकीकरणको शुरुआत गिरिजाको पालामा भएको हो’ : नेता महत

5.58K
shares

सुर्खेत । नेपाली काङ्ग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले नेपालमा गिरिजाबाबुका पालामा आधुनिकीकरणको शुरुआत भएको बताउनुभएको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आज आयोजित पार्टीका कार्यकर्ता भेटघाट कार्यक्रममा नेता डा. महतले विकासको जग काङ्ग्रेस र विशेष गरी गिरिजाबाबुले हालेको दाबी गर्नुभयो । “मुलुकमा १२ वर्ष सशस्त्र द्वन्द्व चलिरहेका बेला पनि सरकारमा काङ्ग्रेस थियो”, उहाँले भन्नुभयो, “काङ्ग्रेसको बलियो नीतिका कारण उतिबेलाको विपरीत परिस्थितिमा पनि मुलुकमा विकास भयो ।”

उहाँले अगाडि भन्नुभयो, “बहुलवादमा विश्वास गर्ने पार्टी काङ्ग्रेस नै हो । समाजवादको मर्मबमोजिम पार्टी अघि बढेको छ ।” मुलुकमा पक्की, कच्ची गरेर ८५ हजार सडक निर्माण हुनु, रु १२ अर्ब राजश्वबाट अहिले रु ९०० अर्ब राजश्वमा वृद्धि हुनु, तत्कालीन चार हजार गाविसमा स्वास्थ्य सेवा पुरु्‍याउनु र १६ लाख हेक्टर जमीनमा सिँचाइ हुनुमा काङ्ग्रेसको देन रहेको नेता महतको भनाइ थियो ।

आफू तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका पालामा आर्थिक सल्लाहकार र पछिल्लो पटक विभिन्न सरकारमा अर्थमन्त्री हुँदा मध्यपश्चिमलाई केन्द्रबिन्दुमा राखेर विकास दिएको उहाँको जिकिर थियो ।

कार्यक्रममा काङ्ग्रेस नेता डा चन्द्र भण्डारीले काङ्ग्रेस पार्टी नभई पाठशाला हो भन्नुभयो । नेतृत्वको कारण पार्टी कमजोर भए पनि यो मुलुकमा कम्युनिष्टबाट देश विकासको आशा गर्न नसकिने उहाँको टिप्पणी थियो । भेटघाट कार्यक्रममा काङ्ग्रेसका कर्णाली प्रदेश, क्षेत्रीय तथा जिल्ला सभापति र यस निकट विभिन्न भ्रातृ सङ्घ-सङ्गठनका प्रमुखको सहभागिता रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083