भेनेजुएला प्रकरणमा नेकपाको निर्णय : ‘आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुनुहुन्न’
वि.सं.२०७५ माघ २१ सोमवार १४:५०
shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भेनेजुएला प्रकरणमा सरकार र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको विज्ञप्ति अनुमोदन गरेको छ । भेनेजुएला प्रकरणमा सरकार र नेकपाको राय बाझिएको समाचार बाहिर आइरहेको समयमा नेकपाले कुनै सार्वभौम देशमा बाह्य हस्तक्षेप स्वीकार्य नहुने निष्कर्ष निकालेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले हरेक देशको सार्वभौम सत्ता, स्वतन्त्रता र अखण्डतामा बाह्य हस्तक्षेप हुन नहुने निष्कर्ष निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘हाम्रो पार्टी संयुक्त राष्ट्रसंघको बडापत्र र पञ्चशीलको सिद्धान्तप्रति प्रतिबद्ध छ, हरेक देशको सार्वभौम सत्ता, स्वतन्त्रता र अखण्डतामा बाह्य हस्तक्षेप हुन नहुने ठहर गरेको छ,’ प्रवक्ता श्रेष्ठले भने ।
प्रवक्ता श्रेष्ठले विदेश नीतिको सम्बन्धमा पार्टीभित्र कुनै अन्यौल नभएको दाबी समेत गरे । कुनै सार्वभौम देशमा समस्या पैदा भएमा त्यस देशका जनताले शान्तिपूर्ण ढंगले समाधान गर्न पाउने उसको अधिकारमा अरूले हस्तक्षेप गर्न नपाउने उनले बताए । भेनेजुएला प्रकरणमा प्रचण्डले विज्ञप्ति जारी गरेपछि अमेरिका र नेपाल सम्बन्धमा चिसोपना आएको विश्लेषण हुँदै आएको छ ।
सोमवारको सचिवालय बैठकमा अधिकांश समय भेनेजुएला प्रकरणबारे छलफल भएको थियो । नेकपाले पार्टीको सांगठनिक समयोजनका लागि गठन गरेको कार्यदललाई भोलिसम्ममा प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । कार्यदलले प्रतिवेदन बुझाएपछि भोलि नै स्थायी कमिटी बैठक बस्ने प्रवक्ता श्रेष्ठले बताए ।
नेकपाको विज्ञप्ति :














