आत्मरक्षाका लागि इन्काउन्टर गरिएको हो, बालुवाटार र सिंहदरबार जहाँ भएनि हत्यारालाई छोडिन्न : गृहमन्त्री ‘बादल’

4.73K
shares

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भक्तपुर इन्काउन्टरमा मारिएका अजय तामाङ र गोपाल तामाङको विषय गम्भीर भएको बताएका छन् । प्रतिनिधिसभामा आज सांसद देवेन्द्रराज कँडेलले गरेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले यस्तो बताएका हुन् । गृहमन्त्री थापाले मारिएका दुईजनाले प्रहरीमाथि नै गोली चलाएकाले प्रहरी कारवाहीमा उनीहरु मारिएको दाबी गरे ।

सांसद कँडेलले गृहमन्त्रीको भनाइमा पूरक प्रश्न गर्दै कुन पेस्तोलले गोली हानेको हो भन्दै प्रश्न गरेका थिए । जवाफमा गृहमन्त्री थापाले भने, “जंगलमा इन्काउन्टर भएको थियो । कति दूरीमा गोली हानियो भन्ने जानकारी छैन । अर्का सांसद बालकृष्ण खाँडले गृहमन्त्रीले इन्काउन्टर भन्ने शब्द प्रयोग गरेको बताउँदै इन्काउन्टरको आदेश कसले दिएको हो भन्ने प्रश्न गरे । गृहमन्त्री थापाले इन्काउन्टरको आदेश अपराधीले प्रहार गर्दा आत्मरक्षाका लागि सुरक्षाकर्मीले प्रयोग गर्ने बताउँदै स्वतः हान्न सक्ने बताए ।

सांसद प्रेम सुवालले शान्ति सुरक्षामा सरकार चुकेको गुनासो गरे । गृहमन्त्री थापाले राज्यको जिम्मेवारी सबैको सुरक्षा गर्ने दायित्व भएको बताए । गत साउन २१ गते ११ वर्षीय बालक निशान खड्काको काठमाडौं काँडाघारीबाट अपहरणमा संलग्न दुईजनालाई अपराध महाशाखाको टोलीले गोली हानी इन्काउन्टर गरेको थियो । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले भक्तपुरको डोलेश्वर पाइलट बाबा जंगलमा अपहरणकारीमाथि गोली चलाउँदा अजय तामाङ र गोपाल तामाङको मृत्यु भएको थियो । प्रहरीले अजय तामाङ र गोपाल तामाङलाई पक्राउ गरेर जंगलमा लगी मारेको प्रत्यक्षदर्शीले बताउँदै आएका छन् ।

बैठकमा सांसदहरुले राखेको ‘निर्मला पन्तका हत्यारा सिंहदरबार र बालुवाटारमा छन् ?’ भन्ने प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले यो प्रकरणमा सरकारले गम्भीर भएर अनुसन्धान गरिरहेको जानकारी गराएका छन् । नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले पन्तको हत्यारा बालुवाटार वा सिंहदरबारको कुर्सीमा वा कहाँ छ भनेर जवाफ मागेपछि गृहमन्त्री थापाले यस्तो जवाफ दिएका हुन् । गृहमन्त्री थापाले अपराधीलाई राज्यले छुट नदिने भन्दै जहाँ भए पनि कानुनको कठघरामा ल्याएरै छाड्ने पनि प्रतिवद्धता व्यक्त गरेका छन् । गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्तका हत्यारा बालुवाटार वा सिंहदरबार जहाँ रहे पनि नछाडिने स्पष्ट पारेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083