‘देशमा भ्रष्टाचारको संक्रमण फैलियो’ : बाबुराम भट्टराई

4.11K
shares

गुल्मी । पुर्वप्रधानमन्त्री तथा नया शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले देशमा भ्रष्टाचारको संक्रमण फैलिएको बताएका छन्।

गुल्मीको मुसिकोट नगरालिका-७ वामीस्थित रुद्रावती बहुमुखी क्याम्पसको प्राङ्गणमा मुसिकोट नगरपालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. भट्टराईले देशलाई गाँजेको भ्रष्टाचार रोक्न महायज्ञ लगाएर, धर्मको डर देखाएर सम्भव नहुने बताए।

उनले विधि, प्रक्रिया र भ्रष्टाचार नियन्त्रण गर्ने अंगहरु बलियो हुनुपर्ने बताए। ‘मानिस पदमा पुगेपछि लोभ लालचमा फस्दो रहेछ,’ उनले भने, ‘यो लालच, घुसखोरी, कमिसनखोरी तन्त्र, भ्रष्टाचार रोक्नलाई विधिको सुधार गर्नुपर्छ, पूरा प्रणालीलाई ठीक गर्नुपर्छ।’

उनले काण्डै काण्ड भएको राजनीतिबाट स्वतन्त्र रहने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा न्यायापालिकामा नियुक्ति गर्नुपर्ने भन्दै राजनीतिक शुदृढिकरण हुनुपर्नेमा जोड दिए।

उनले खर्चिलो चुनावको कारण देशमा घुसखोरी, कमिसनखोरी बढेको भन्दै खर्चिलो चुनावी प्रणालीको सुधार गर्नुपर्ने बताए । ‘चुनाव लड्दा करोडौ खर्च हुन्छ, त्यो खर्च सामान्य मान्छेले पुर्‍याउन सक्दैन त्यसैले ऋणधन गरेर चुनाव जित्छन्,’ उनले भने, ‘त्यो खर्च त उठाउनु पर्‍यो, त्यसैले रातारात करोडौ धन कमाउन प्रवृति हावी हुन्छ।’

पूर्वप्रधानमन्त्री भट्टराईले चुनावमा हुने आधारभुत खर्च राष्ट्रले तिरिदिने र कार्यकारी पदमा मात्र चुनाव गर्ने तथा संसदमा भने समानुपातिक प्रणालीबाट नेता छान्ने विधि अपनाउने हो भने भ्रष्ट्राचार हट्ने बताए।

उनले प्रदुषित राजनीतिको निवारण गर्न जनता पनि सचेत भइ जनप्रतिनिधिहरुलाई सचेत बनाउने र असल नेतालाई मात्र चुन्नुपर्ने कुरामा जोड दिए। उनले सबैभन्दा बलियो स्थानीय सरकार, त्यसपछि प्रदेश र केन्द्र सरकार हुनुपर्ने भन्दै अब जनतालाई धनी बनाउने खालको समावेशी विकासको बिचारधारा जन्माउनुपर्ने बताए ।

देश विकासको निम्ती राज्यले पूर्वाधारको क्षेत्रमा नेतृत्व गर्नुपर्ने र निजी क्षेत्रलाई कृषिसहित अन्य क्षेत्रहरुमा लगानी गर्न दिएको खण्डमा देशमा सन्तुलित विकास हुने बताए। विकासको पहिलो पूर्वाधार सडक भएको भन्दै सडकसँगै अन्य पूर्वाधारहरुको विकास गर्नुपर्ने र अर्को प्राथमिकता शिक्षा हुनुपर्ने उनले बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083