सुनौलो सपना देखेर उदाएका मन्त्री ‘रवीन्द्र अधिकारी’, जुन पूरा हुन नपाइ अस्ताए!

5.27K
shares

काठमाडौं। आलोचक निक्कै थिए रवीन्द्र अधिकारीका। वाइडबडी विमान खरिद प्रकरणमा उनी मुछिए। एनसेललाई छुट दिएको भनी आलोचना हुँदै आएको थियो, उनको।

तर, काम गर्ने र परिणाम ल्याउन सक्ने मन्त्री थिए अधिकारी। पोखरा र भैरहवा विमानस्थल निर्माणले गति लिनु, नयाँ जहाज थपिनु, चीनसँग नयाँ हवाई रुट खोलिनु, भएका विमानस्थलको स्तरोन्नतिमा तदारुकता देखिनु ‘काकताली’ पनि होइन। भैरहवा–जनकपुर–भैरहवालाई क्रसबोर्डर हवाई प्रवेश बिन्दु बनाउनु पनि चानचुने काम थिएन।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त भएसँगै रवीन्द्र अधिकारीले आफ्नो ५ वर्षे कार्यकालमा हासिल गर्ने एउटा सपना देखिसकेका थिए। वार्षिक पर्यटक आवागन २५ लाख पुर्याउनेदेखि निजगढ विमानस्थलको निर्माण आधा सकाउने सम्मका लक्ष्य सहितको कार्यदिशा उनको थियो।

यही कार्यदिशा सँगै उल्लेखित प्रगति सपना साकार हुने क्रमको एउटा पाटो थियो। उनको ६ महिने र एकवर्षे योजना पूरा हुँदै थिए।

विभिन्न सांस्कृतिक र पुरातात्विक सम्पदाको पुनर्निर्माण गर्ने देखि पर्यटन प्रवद्र्धधनका लागि चालिने कदम अधिकारीले बनाएका थिए। उनी आफ्नो कार्यकाल अन्त्य हुँदा सम्म राष्ट्रको कूल गार्हस्थ्य उत्पादनमा पर्यटनको २५ प्रतिशत योगदान भएको देख्न चाहन्थे। पोखरा अन्तर्राष्ट्रिय र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कम्तिमा १० वटा राष्ट्रिय ध्वजावाहक विमानले अन्तर्राष्ट्रिय उडान गराउन चाहन्थे।

यसका लागि उनको मार्गचित्र पनि स्पष्ट थियो। यसका लागि उनले विभिन्न प्रदेशमा पर्यटनमन्त्रीहरु सँग अन्तरक्रिया आयोजना समेत गरेका थिए। उनैको नेतृत्वमा तयार भएको कामको खाकाले ११ प्राथमिकताका क्षेत्रमा कसरी काम गर्ने भन्ने स्पष्ट पारेको थियो।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कार्य प्रगति ७० प्रतिशत पुगिसकेको समाचारसँगै उनले ट्विटरमा लेखेका थिए, “समस्यामा फसेको आयोजना यो रुपमा यसरी अगाडि बढ्ला भन्ने धेरैलाई लागेकै थिएन। प्रश्न एउटा आयोजनाको मात्र होइन र प्रगति देख्न जुग कुर्नु पर्दैन। सहयोग सबैको अपरिहार्य छ। केही महिना मात्र पर्खौं, अनुभूति सहितको परिवर्तन हुनेछ।”

उनकै कार्यकालमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ३० प्रतिशत पूरा भइसकेको थियो। नारायणहिटी राजदरबारमा श्रीपेच र राजदण्ड सर्वसाधारका लागि खुला गरिएको थियो, २८ वटा विमानस्थल सञ्चालनमा आएका थिए।

तर, बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनासँगै अधिकारीका ती सपना सपनामै सीमित भए। पर्यटनसँगै देशको समृद्धिको सपना देख्ने रवीन्द्र अस्ताए। उनी भन्ने गर्थे, ‘चुनौतीहरु लागि परीक्षा हुन् ।’ तर, उनै रवीन्द्र परीक्षामा अनुत्तीर्ण भएझैं देखियो।

यी सपना जो पूरा हुन सकेनन् :

१. मन्त्री भएसँगै रणनीतिक महत्वका पूर्वाधार र राष्ट्रिय गौरवका आयोजना अन्तर्गत त्रिभुवन विमानस्थल विस्तार, सुधार र आधुनिकीकरण गर्ने अधिकारीको सपना पूरा हुन सकेन। उडान क्षमता तथा जहाज पार्किङ क्षमता दोब्बर भएको हेर्न पाएनन्।

२. पर्यटनका प्रमुख स्रोत बजारसँग नेपालको सिधा सम्पर्क स्थापना गर्ने काम आधामै टुंगियो। नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय व्यापारको ६० प्रतिशत हिस्सावाहक बनाउन सकेनन्।

३. अधिकारीले पूरा गर्न नपाएको अर्को सपना हो, नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने। सन् २०२० सम्म दिगो रुपमा वार्षिक २० लाख पर्यटक नेपाल ल्याउने काममा साथ दिन पाएनन्।

४. पशुपति क्षेको बृहत्तर विकासका लागि तयार योजनामा थप साथ दिन पाएनन्। भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भई सञ्चालनमा आएको हेर्न पाएनन्। न त नीजगढ विमानस्थलका लागि चालिएको उनको ठूलो कसरतले निर्माण कार्य आधा सम्पन्न हुन पायो।

५. लुम्बिनी क्षेत्रमा पर्यटकको संख्या र गतिशिलता ३ गुणाले बनाउने काममा उनले थप साथ दिन सकेनन्। जनकपुरमा रामायण सर्किट निर्माण गरी सहरलाई प्रदेश नं. २ को पर्यटकीय गन्तव्य बनाउन पनि उनले पाएनन्। मुक्तिनाथ क्षेत्र, स्वर्गद्वारीको गुरु योजना पनि सपनामै सीमित रह्यो। रारा र खप्तड क्षेत्र विकास कार्यक्रमसँगै पदमार्ग स्थापना गर्ने काम सुरु पनि गर्न सकेनन्, अधिकारीले। पाथीभरा र हलेसी महादेव क्षेत्र विकासका लागि काम गर्नेक्रममै ज्यान गुमाउनु पर्यो।

६. अधिकारीले प्रत्येक प्रदेशमा कम्तिमा एक प्रादेशिक संग्रहालय बनाउन पाएनन्।

७. सबै प्रदेशमा सांस्कृतिक पहिचान सहितको पर्यटन पूर्वाधार विकास क्षेत्र निर्माण र प्रवद्र्धन गर्ने अधिकारीको सपना पनि दुर्घटनासँगै तुहियो। पर्यटनमैत्री संरचना बनाउने काम सुरु हुनै पाएन।

८. देशभर १ सय वटा नयाँ पर्यटकीय गन्तव्य विकास गरी आन्तरिक र बाह्य पर्यटकको संख्या देशव्यापी रुपमा वितरण बनाउने योजना अधिकारीले सुनाउन मात्रै भ्याए।

९. नागरिक उड्डयन क्षेत्रको विकासमा अन्तर-प्रादेशिक हवाई उडान अधिक सञ्चालन गर्ने, सात प्रदेशमा कम्तिमा एउटा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल उनले बनाउन पाएनन्। सबै प्रदेशमा कम्तिमा एउटा हेलिप्याड पनि उनले बनाउन पाएनन्।

१०. भूकम्पबाट क्षतिग्रस्त सांस्कृतिक संरचना खडा हुने क्रममै अधिकारी विलय भए।

११. नेपालका पर्यटकीय गन्तव्यको प्रवद्र्धन अन्तर्राष्ट्रिय बजार र मिडियामा पर्याप्त रुपमा गर्न पाएनन्।

१२. पर्यटनका लागि मानव संशाधन विकास गर्न अन्तर्राष्ट्रिय स्तरको मानीत पर्यटन विश्वविद्यालय बनाउने उनको सपना थियो। पर्यटन क्षेत्रमा प्रतिवर्ष न्यूनतम १० हजार जनशक्ति उत्पादन गर्ने उनको योजना थियो।

यी सपना साकार गराउन उनको कार्यान्वयनको ढाँचा सहज र दिशा-निर्देशकको रुपमा देखिन्थ्यो। किनकी संघीय सरकारले राष्ट्रिय स्तरको नीति, कानुन मापदण्ड गुरुयोजना तर्जुमा र नागरिक उड्डयन क्षेत्रका सम्पूर्ण काम गर्ने उनको योजना थियो। यसैगरी प्रदेश-स्तरका पर्यटकीय स्थलको गुरुयोजना तयार तयार गरी सेवाप्रवाह गर्न पूर्वाधार निर्माण प्रदेश सरकारले गर्ने योजना थियो।