शोकलाई शक्तिमा बदल्नु पर्छ : प्रचण्ड

4.6K
shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिवंगत नेताहरूको शोकमा रहेको अवसरलाई शक्तिमा बदल्नु पर्ने बताएका छन्। नेकपाले बिहीबार काठमाडौंमा आयोजित गरेको तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी, पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी लगायतका नेता र ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरूको सम्झनामा आयोजित श्रदाञ्जलि सभामा बोल्दै प्रचण्डले आफूहरू अहिले शोकमा भएको र दिवंगत भएकाका परिवार शोकमा भएकाले त्यो शोकलाई शक्तिमा बदल्ने बेला आएको बताए।

प्रचण्डले रवीन्द्र अधिकारी र भरतमोहन अधिकारीको मृत्यु ‘पहाड भन्दा ग्रहुंगो’ भएको बताए। उनले लाखौँ जनतालाई तरंगीत पार्दै भएका निधनबाट शिक्षा लिनु पर्ने बताए। उनले सबैमा दिवंगतहरूप्रति श्रदा र सम्मान पैदा भएको बताए। उनले दिवंगत भएका व्यक्तिहरूका राम्रा कामबाट शिक्षा लिने र युगयुगसम्म ती काम स्थापित गर्नका लागि संकल्प गर्ने बेला आएको बताए। ‘दिवंगतहरूको कामको समीक्षा गरौँ, पीडा र शोक त भएकै छ। शोक र पीडा हुनु मानवीय पक्ष हो’, उनले भने, ‘इच्छाशक्तिको बलमा शोकलाई शक्तिमा बदल्न सक्नुपर्छ। समाजको उन्नती र प्रगतिको निम्ति हामी रोएर मात्रै पीडामा बाँच्न सक्दैनौँ।’

उनले दिवंगतहरूले गरेका राम्रा कामको सही विवेक प्रयोग गरेर अगाडि बढ्न पार्टी नेता कार्यकर्ता दिवंगत परिवारका आपन्त र सबैमा आह्वान गरेका थिए। प्रचण्डले फागुन महिना शोक र श्रदाञ्जलिमा बिताउनु परेको बताए। फागुन १ गते जनयद्ध र जनआन्दोलनका सहिदहरूप्रति र त्यस पछि अन्य दिवंतहरूको निधनमा बिताउनु परेको बताए। उनले भने, ‘उहाँहरूको सपना साकार पार्ने दिशामा अगाडि बढ्न संकल्प लिएर मात्रै सही काम हुन सक्छ। परिवारका सदस्यले शोकलाई शक्तिमा बदल्ने संकल्प लिनै पर्दछ। आम नेपाली जनताले बडो चनाखो आँखाले हेरि रहनु भएको छ।’

दिवंगत नेता र राष्ट्र सेवकको परिवारबारे उनले भने, ‘देशको एउटा जिम्मेवार नेता र राष्ट्र सेवकको परिवारको हिसाबले संकल्प लिने बेला हो यो। परिवारका सदस्यले संकल्प लिने बेला यहिँ नै हो।’ हेलिकोप्टर दुर्घटनामा दिवंगत रवीन्द्र अधिकारी लगायत सातैजनाका परिवारलाई भेटेर आफूले धैर्य गर्न र दिवंगतहरूका सपना पूरा गर्न संकल्प लिन भनेको प्रचण्डले बताए। दिवंगतहरूको सपना साकार पार्न योगदान गर्ने दिशामा भूमिका खेल्नुपर्छ भनेर आग्रह गरेको उनको भनाइ थियो। प्रचण्डले देशको राजनितिक परिस्थितिको विशिष्ट मोडमा रहेको बताए।

ठूलो राजनीतिक अवसर छ र चुनौती सँगसँगै आएको उनको भनाइ थियो। लामो संघर्ष र बलिदान पछि नेपाल लोकतान्त्रिक गणतन्त्रमा पुगेको भन्दै उनले रवीन्द्र र भरतमोहनले दिएको योगदान यसमा महत्वपूर्ण रहेको बताए। उनीहरूले जीवन नै अर्पण गरेको उनको भनाइ थियो। प्रचण्डले सबै संसारबाट विदा हुनु पर्ने यथार्थ रहेको भन्दै राष्ट्र निर्माणमा लाग्न पनि आग्रह गरेका थिए। उनले अहिले सबै नयाँ समाज निर्माणको प्रक्रियामा रहेको बताउँदै उनले राजनीतिक स्थायित्व सहित नयाँ प्रक्रियामा जाने भनेर सुशासनको प्रतिवद्धता जनाइएको बताए। उनले अहिले पार्टी सरकार र समाज कुन दिशामा गइ रहेको छ भनेर समीक्षा गर्ने बेला भएको पनि बताए।

‘समृद्ध नेपाल र सुखी नेपाली बनाउने काममा कत्तिको काम गर्‍यौँ भन्ने सुशासन व्यवस्था अनुसासानलाई कत्तिको काम गर्‍यौ भन्ने समीक्षाको बेला आएको छ’, प्रचण्डको भनाइ थियो। तत्कालिन मन्त्री रवीन्द्र अधिकारी सहित सातजना चढेको हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो। भरतमोहन अधिकारीको गत शनिबार निधन भएको थियो। दिवंगत सबैको सम्झनामा नेकपाले श्रदाञ्जलि सभा आयोजना गरेको हो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083