नेकपाको एकता प्रक्रिया लम्बियो

4.54K
shares

काठमाडौँ। नेकपाकोे तल्लो तहको एकता प्रक्रिया अझै लम्बिने भएको छ। यसै सातादेखि एकता विषयमा छलफल हुने भनिएको थियो। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि अमेरिका जानु भएपछि एकता प्रक्रियामा एकसाताका लागि लम्बिएको हो। उनको भ्रमण सातदेखि १० दिनसम्म रहेको छ।

अध्यक्ष प्रचण्ड अमेरिकाबाट फर्केपछि मात्र सचिवालयको बैठक बस्ने भएको छ। नेता बामदेव गौतमलाई उद्धृत गर्दै ‘एकताको विषयमा पार्टीमा कुनै छलफल भएको छैन। कार्यदलले हालसम्म प्रतिवेदन पनि बुझाएको छैन। अब अध्यक्ष प्रचण्ड अमेरिकाबाट नफर्केसम्म सचिवालयको बैठक बस्दैन होला।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच जेठ ३ गते एकीकरण भएको थियो। मूल कमिटी मात्र एकीकरण गरेका नेकपाले सम्पूर्ण एकता प्रक्रिया तीन महिनाभित्र टुङ्गो लगाउने निर्णय गरेको थियो। त्यसका लागि विभिन्न कार्यदल पनि बनाइएको थियो तर लामो समयसम्म कार्यदलले एकता प्रक्रिया टुङ्ग्याउन सकेन।

त्यसपछि सम्पूर्ण एकता प्रक्रिया र केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँटको विषयमा टुङ्गो लगाउने जिम्मेवारी सचिवालयले लिएको छ। पछिल्लो समय सचिवालय सदस्य रामबहादुर थापाको संयोजकत्वमा गठन भएको कार्यदलले बुझाएको प्रतिवेदनमाथि सचिवालयले छलफल पनि शुरु गरेको छैन।

गृहमन्त्री थापाको कार्यदलले जेजति काम गरेको थियो। सोही आधारमा सचिवालयलाई प्रतिवेदन बुझाइसकेको छ। थापा नेतृत्वको कार्यदलले प्रतिवेदन बुझाएपछि कार्यदलका असन्तुष्ट नेताहरूले पनि एउटा छुट्टै प्रतिवेदन बुझाएका छन्। सचिवालयमा दुवै प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । अध्यक्ष प्रचण्ड अमेरिका जानुअघि नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग एकताको विषयमा छलफल गरेका थिए।

पूर्वएमालेले ४५ वटा जिल्ला र पूर्वमाओवादी केन्द्रले ३२ वटा जिल्ला लिने गरी प्रधानमन्त्री ओलीले प्रस्ताव गर्नुभएको छ तर अमेरिकाबाट फर्केपछि मात्र त्यसमा छलफल गर्ने भनी प्रचण्ड अमेरिका जानु भएको पार्टी स्रोतले जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083