मधेसमा पानीजहाज होइन, सिँचाइ चाहिएको छः पौडेल
वि.सं.२०७५ चैत १२ मंगलवार १४:५१
shares

महोत्तरी। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी जोगाउन र मधेससँगको सम्बन्धलाई निरन्तरता दिन मधेस झरेको बताएका छन्। कांग्रेस महोत्तरी क्षेत्र नम्बर ३ ले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले हिमाल, पहाड र तराईलाई एक गर्नका लागि आफू मधेस संवाद गर्न आएको बताए।
म कांग्रेसलाई बचाउन र मधेसमा कांग्रेससँगको सम्बन्धलाई निरन्तरता दिनका लागि हिमाल, पहाड र तराईलाई एक गर्न मधेस संवाद गर्न आएको हुँ उनले भने। उनले पहाडका ठूला नदिको आम्दानी मधेसले पाउनुपर्नेमा जोड दिँदै लोकतन्त्र बलियो भए मात्रै मधेसी जनता बलियो हुने बताए।
जनता बलिया भएमात्रै मधेशका माग पूरा हुने नेता पौडेलको भनाइ थियो। चुरे क्षेत्रमा भइरहेको दोहनप्रति आपत्ति जनाउँदै उनले चुरेको दोहनले मधेसको विकास नहुने प्रष्ट पारे। मधेसलाई सांस्कृतिक पहिचान चाहिएको जिकिर गर्दै पौडेलले भौगोलिक रुपमा राजमार्गभन्दा उत्तर एक इञ्च जमिन चाहिँदैन भन्नेहरुलाई मधेस विरोधीको संज्ञा दिए।
मधेसको विकासका लागि पानी जहाज नभएर मधेसका बाँझा खेतमा सिँचाइका लागि पानीको आवश्यकता परेको दोहोर्याउँदै पौडेलले भने मधेसलाई पानी जहाजभन्दा सुनकोशी डाईभर्सन चाहिएको छ। राष्ट्रवादी बन्नका लागि मधेसलाई गाली गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादी सोचलाई समयले प्रष्ट्याउने उनको दाबी थियो।
संघीयता, लोकतन्त्र र गणतन्त्रको संरक्षण गर्न आवश्यक रहेको भन्दै पौडेलले राष्ट्रलाई जनमत संग्रहमा लैजाँदा देश विरोधीहरु बलिया हुने बताए। उनले धार्मिक द्वन्द्व भए मुलुक सोमालियाको अवस्थामा पुग्ने पनि दाबी गरे। हामीले धर्मको कुरा होइन अब विकासको कुरा गर्नुपर्छ कांग्रेसका वरिष्ठ नेता पौडेलले भने धार्मिक द्वन्द्व भयो भने देश सोमालिया हुन्छ। लोकतन्त्रले नै देशको स्वाभिमान बलियो बनाउँछ।
कांग्रेसले संविधान संसोधन गर्न खोज्दा तत्कालिन नेकपा एमालेले विरोध गरेको स्मरण गराउँदै प्रशन गरे हिजो केपी ओलीले मधेसका जनता र मधेसका नेतालाई के- के भन्दै हिँडेका थिए आज तीनै मधेसका नेताहरु ओली नेतृत्वको सरकारमा किन टाँसिएका छन् संविधान संसोधनको कुरा कहाँ हरायो। संविधान संसोधन छोडेर सत्तामा जानु भनेको सत्ताको भोगी हो कि होइन ?






























