चुनावमा ट्रेड युनियनलाई गाडी उपलब्ध नगराउन कुलमान घिसिङको निर्देशन
वि.सं.२०७६ वैशाख ५ बिहीवार १७:३६
shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आधिकारिक ट्रेड युनियको चुनावमा ट्रेड युनियनलाई कार्यालयरआयोजनाको गाडी प्रयोगमा रोक लगाएका छन्। कार्यकारी निर्देशक घिसिङले बिहीबार परिपत्र जारी गर्दै निर्वाचन प्रायोजनका लागि सामान्य सेवा विभागबाट उपलब्ध गराएको सवारी साधनबाहेक कुनै पनि ट्रेढ युनियनलाई गाडी उपलब्ध नगराउन निर्देशन दिएका हुन्।
कसैले गाडी उपलब्ध गराएमा विभागीय कारवाही गर्ने चेतावनी पनि घिसिङले दिएका छन्। प्राधिकरणमा आधिकारिक ट्रेड युनियनको चुनाव १९ वैशाखमा हुँदैछ। चुनावमा नेकपा निकट राष्ट्रिय कर्मचारी युनियन र नेपाली काँग्रेस निकट कर्मचारी संघबिच मुख्य प्रतिश्पर्धा हुने छ।
‘चुनावी प्रायोजनका लागि समान्वय सेवा विभागबाट उपलब्ध गराइएको सवारी साधनबाहेक त्यस निर्देशनालय र अन्तर्गतका कुनै पनि कार्यालयरआयोजनाहरुबाट कुनै पनि सवारी साधन कुनै पनि ट्रेड युनियनलाई उपलब्ध नगराउने, निर्देशन विपरित काम कारबाही भए गरेको पाइएमा सम्बन्धितलाई विभागीय कारबाही गरिने छ’, निर्देशनमा उल्लेख छ।
घिसिङले संस्थाको हित विपरित सार्वजनिकरुपमा अभिव्यक्ति दिएपछि कर्मचारी संघका अध्यक्ष जनार्दन भट्टराईलाई स्पष्टीकरण सोधेका छन्। स्पष्टीकरणको निर्णय फिर्ता नभएसम्म चुनावमा सहभागी नहुने अडान संघले राखेको थियो। तर, कार्यकारी निर्देशक घिसिङले निर्णयबाट कुनै पनि अवस्थामा पछि नहट्ने अडान राखेपछि संघ बाध्य भएर चुनावमा सहभागि भएको थियो। प्राधिकरणमा क्रियाशील ट्रेड युनियनहरुले विहीबार उमेदवारी दर्ता गराएका छन्।
प्राधिकरणले चुनावलाई स्वतन्त्र, निश्पक्ष र मर्यादित रुपमा सम्पन्न हुने वातावरण बनाई सोही बमोजिक परस्पर सहयोग र समन्वय गरी निर्वाचनमा सहभागि हुन निर्देशन दिएको छ। चुनावमा ज्यालादारी, करार, अस्थायी र स्थायी गरी नौ तहसम्मका कर्मचारीले भोट हाल्न पाउने छन्।


















