नागरिकलाई गाँस, बास र कपासको व्यवस्था गर्नु सरकारको दायित्व : मुख्यमन्त्री पौडेल

6.96K
shares

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै नागरिकलाई गाँस, बास र कपासको व्यवस्था गर्नु सरकारको दायित्व भएको बताए ।

काठमाडौँ महनागरपालिकाको २५औँ महानगर दिवसका अवसरमा आज एक भिडियो सन्देश जारी गर्दै उहाँले सबैका लागि खाना, नाना र छानाको प्रत्याभूति गराउनु लोककल्याणकारी राज्यको दायित्व भएको उल्लेख गर्नुभएको छ ।

“काठमाडौँ महानगरपालिकाले २५औँ महानगर दिवसको अवसरमा सडकमा जीवन व्यतित गर्न विवश बेसहारा, अभिभावकविहीन तथा सहयोगापेक्षी व्यक्तिलाई उचित बसोबास र स्याहारसुसारको प्रबन्धसहित सडक मानवरहित महानगरको घोषणा महाअभियान शुभारम्भ गर्न लागेकामा हार्दिक शुभकामना व्यक्त गर्दछु”, सन्देशमा भनिएको छ ।

सन्देशमा मानव सेवा आश्रमसहित अन्य सामाजिक सङ्घसंस्थासमेतको सहभागितामा ‘भोकै कोही पर्दैनन, भोकले कोही मर्दैनन्’ भन्ने नाराका साथ जसको कोही छैन, त्यस्ता व्यक्तिको उद्धार गरी आश्रय, खानपान तथा औषधोपचारसमेतको व्यवस्था गर्ने, परिवार भएकाहरुलाई परिवारको जिम्मा लगाउने तथा आगामी दिनमा समेत सडक मानवरहित महानगर बनाउने सङ्कल्पसहित शुभारम्भ हुन लागेको महाअभियान आफैँमा महत्वपूर्ण भएको उल्लेख छ ।