लामिछानेविरुद्धको रिटमा आज सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुदैँ

338
shares

काठमाडौं । रवि लामिछाने विरुद्ध दायर रिट निवेदनमाथि आज सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुँदैछ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेसँग सम्बन्धित विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दाहरूमा अभियोग संशोधन गर्ने निर्णयविरुद्ध परेको रिटमा आज बहस तय गरिएको हो। उक्त मुद्दा न्यायाधीश अब्दुल अजीज मुसलमान, श्रीकान्त पौडेल र शान्तिसिंह थापा सम्मिलित पूर्ण इजलासमा पेशीमा चढेको छ।

सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर जोडिएको प्रकरणमा महान्यायाधिवक्ता कार्यालयले अभियोग संशोधन गर्ने निर्णय गरेको थियो। सो निर्णयविरुद्ध कानुनी प्रश्न उठाउँदै सर्वोच्चमा रिट दायर गरिएको हो।

यसअघि न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले २०८२ चैत १५ गते ‘थप प्रमाण’ सम्बन्धी कानुनी व्याख्यामा अस्पष्टता रहेको ठहर गर्दै मुद्दा पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो।

संयुक्त इजलासले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ३६ अनुसार ‘थप प्रमाण’ का आधारमा मात्र अभियोग संशोधन गर्न सकिने व्यवस्था रहेको उल्लेख गर्दै, उक्त प्रावधानको प्रयोगबारे स्पष्ट व्याख्या आवश्यक रहेको औंल्याएको थियो।

अब पूर्ण इजलासको सुनुवाइबाट ‘थप प्रमाण’ को व्याख्या र अभियोग संशोधनको कानुनी सीमाबारे महत्वपूर्ण नजीर स्थापित हुने अपेक्षा गरिएको छ।