नेता होइन, जनता रिसाए कि भनेर चिन्ता गर्नुस्: गगन थापा
वि.सं.२०८३ जेठ २६ मंगलवार २०:४३
shares

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेता रिसाए कि भनेर होइन, जनता किन रिसाए भनेर चिन्ता गर्न पार्टी पंक्तिलाई आग्रह गरेका छन्।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाले आयोजना गरेको कार्यक्रममा उनले केन्द्रको राजनीति भन्दा जिल्लाका जनताको भावना बुझ्न कार्यकर्तालाई सुझाव दिए।
“फलानो नेता रिसाए कि, ढिस्कानो नेता रिसाए कि भनेर चिन्ता गर्न छाड्नुस्। पार्टीलाई भोट हाल्ने जनता किन रिसाए भनेर चिन्ता गर्नुस्,” उनले भने।
पछिल्लो निर्वाचनमा जनताको असन्तुष्टिका कारण नतिजा प्रभावित भएको उल्लेख गर्दै उनले जनताको विश्वास पुनः जित्न आवश्यक रहेको बताए।
थापाले २०८४ को निर्वाचनमा उम्मेदवार छनोट प्रक्रिया तल्लो तहबाट सुरु गरिने पनि बताए। अब स्थानीय तहका पार्टी सदस्यहरूको अभिमतलाई संस्थागत गर्दै टिकट वितरणमा उनीहरूको भूमिका बढाइने उनको भनाइ थियो।






























