ओखलढुंगामा आगलागी : दुई घर जलेर नष्ट
वि.सं.२०७५ चैत २० बुधवार १७:५७
shares

ओखलढुंगा। ओखलढुंगामा लगातार आगलागीका घटना भइ रहेका छन्। पछिल्लो पटक सिद्धिचरण नगरपालिका-१ तलुवामा मंगलबार राति भएको आगलागीमा दुई घर जलेका छन्। घरसँग जोडिएको पालीबाट सुरु भएको आगोले शिवमाया पुलामी र भीमबहादुर मगरको घर जलेर नष्ट भएका हुन्।
शिवमायाको पालीबाट सुरु भएको आगोले दुई घर तथा सम्पूर्ण धनमाल नष्ट भएको स्थानीय किरण श्रेष्ठले बताए। उनका अनुसार स्थानीयले आगो नियन्त्रणमा लिएका थिए। घर तथा धनमाल गरेर १५ लाख बढीको क्षति भएको अनुमान गरिएको छ।
आगलागी पीडित आफन्तकोमा शरण लिएर बसेका छन् भने नगरपालिका रेडक्रस लगायतका संस्थाले राहत उपलब्ध गराएको छन्। यस अघि सिद्धिचरण नगरपालिका-१ मा भएको आगलागीमा ७ घर जलेका थिए। त्यस्तै, मोलुङ गाउँपालिका-२ महभीरमा लागेको आगो भने मंगलबार नियन्त्रणमा आएको छ। उपभोक्ता, स्थानीय, प्रहरी तथा वनका कर्मचारीको प्रयासमा आगो नियन्त्रणमा लिइएको हो।
हावाहुरीका कारण आगलागीको जोखिम बढेको जिल्ला वन कार्यालयले जनाएको छ। आगोबाट सुरक्षित रहन आगोको प्रयोगमा ध्यान दिन कार्यालयले आग्रह पनि गरेको छ।































