प्रदेश ७ का प्रदेश मन्त्रीको गाडी दुर्घटना, तीन घाइते
वि.सं.२०७५ कात्तिक २४ शनिवार १०:०४
shares

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रयोग गर्दै आएको बा२झ ३१२५ नम्बरको स्कारपियो जिप गएराति कैलालीमा दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
दुर्घटनामा परी जिपका चालक गोदावरी नगरपालिकाका धोजेन्द्र शाही, निजकै भाञ्जी नाता पर्ने दश वर्षीया आयुश्मा शाही र से३प २४२० नम्बरको मोटरसाइकलका चालक गौरीगंगा नगरपालिकाका सुरेन्द्र चन्द घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए।
दुर्घटनाबाट गम्भीर घाइते मोटरसाइकलका चालक चन्दलाई धनगढीको माया मेट्रो अस्पतालबाट थप उपचारका लागि काठमाडौं लग्न सिफारिश गरिएको छ। अन्य दुईको अवस्था सामान्य छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने कैलालीको बडैपुर सडक खण्डमा से३प २४२० नं को मोटरसाइकल र मन्त्री सोडारीको स्कारपियो जिप ठोक्किएको थियो। रासस
















