माधव नेपाललाई सुनपानी छर्किएर चोखिन सुरेन्द्र पाण्डेको सल्लाह
वि.सं.२०७५ पुस ४ बुधवार १४:२७
shares

काठमाडौँ । सरकारकै संलग्नतामा अघिल्लो महिना काठमाडौँमा भएको विवादास्पद एसिया प्यासिफिक समिटबारे सत्तारुढ नेकपाभित्र बहस चर्किँदो छ।
यसैक्रममा २९ मंसिरदेखि जारी नेकपा स्थायी समितिको बैठकमा नेता सुरेन्द्र पाण्डेले सो समिटका आयोजक नेकपा नेताहरुलाई रोचक सुझाव दिएका छन्। बुधबारको बैठकमा बोलेका पाण्डेले सो सम्मेलनका कारण नेपाली जनताको बीचमा नेकपा नेताहरु बिटुलो बनेको बताउँदै चोखिन सुझाव दिए।
‘परदेश गएको छोरो फर्कँदा बिटुलो भएको भनेर सुनपानी छर्केर चोख्याउने र त्यसपछि घर भित्र्याउने चलन छ’ पाण्डेले भने, ‘सो समिटका कारण नेकपाको स्थिति पनि बिटुलिएको छ, स्थायी समितिको यही बैठकमा सुनपानी छर्केर हामीलाई चोख्याउन सकेनौँ भने त्यसको प्रतिफल आगामी चुनावमा हामीले बेहोर्नुपर्छ।’
सो सम्मेलनमा पार्टी र सरकारको संलग्नताप्रति आत्मालोचना गर्नुपर्ने र त्यस्तो विवादास्पद सम्मेलन गरेकोमा गल्ती भयो भनेर भन्नुपर्ने उनको प्रस्ताव थियो। पाण्डे नेकपाभित्र माधव नेपाल निकट नेताको रुपमा चिनिन्छन्। पाण्डेले यस्तो सुझाव दिँदै गर्दा बरिष्ठ नेता नेपाल मुसुमुसु हाँस्दै पाण्डेका कुरा सुनिरहेका थिए।
तर, पार्टी र नेतृत्वलाई सो समिटको आयोजनाबारे आत्मालोचना गरेका पाण्डेले नेता नेपालको नामै किटेर आलोचना गर्न पनि चुकेनन्। ‘आमाको निधन हुँदा माधव कमरेडले प्रधानमन्त्री पदका लागि काजक्रिया गर्नुभएन भनेर आलोचना हुने गरेको छ’ नेपालतिर फर्केर पाण्डेले भने, ‘सो समिटबारे आत्मालोचना गर्नुभएन, सुनपानी छर्कनु भएन भने मानिसहरुले माधव नेपाल त उतिबेलैदेखि क्रिश्चियन रहेछ भन्नेछन्।’
सम्मेलनको आयोजनाप्रति पार्टी र नेतृत्वले आत्मालोचनामार्फत् सुनपानी छर्कनुपर्ने बताइरहँदा मुसुमुसु हाँसिरहेका नेता नेपाल पाण्डेले ‘आत्मालोचना गर्नुभएन भने मानिसहरुले माधव नेपाल त उतिबेलैदेखि क्रिश्चियन रहेछ भन्नेछन्’ भनेपछि एकाएक गम्भीर भए, उनको अनुहार अँध्यारो भयो।





























