‘पार्टीको केन्द्रीय सदस्य वडाबाटै निर्वाचित हुनुपर्छ’ : अर्जुननरसिंह केसी
वि.सं.२०७५ फागुन ७ मंगलवार १५:१२
shares

चितवन । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीको महाधिवेशनमा केन्द्रीय सदस्य पनि वडाबाटै निर्वाचित भएर आउनुपर्ने बताएका छन्।
नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले महासमितिले दिएको सुझाव सबैले पालना गर्नुपर्ने बताए। उनले वडा तहबाटै निर्वाचित हुने विषयमा पार्टी सभापतिले समेत सम्बोधन गर्नुभएकाले यसलाई कसैले हटाउन नसक्ने बताए। वडा तहबाटनै निर्वाचित भएर केन्द्रीय समिति बन्यो भने पार्टी चलायमान हुने र कार्यकर्ताको भावनाको कदर हुने उनको भनाइ थियो।
नेता केसीले काङ्ग्रेस अनेक किसिमका आरोह अवरोहका बीचमा पनि आफ्नो सिद्धान्तबाट पछि नहटेको बताए। काङ्ग्रेसले अहिले समसामयिक रुपमा लोकतन्त्रसँग प्रत्यक्ष रुपमा सरोकार राख्ने विषयलाई उठान गर्दै आएको उनको भनाइ थियो।
सरकारले भ्रष्टाचार शून्य बनाउने कुरा गरे पनि व्यवहारमा लागू नगरेको केसीको आरोप थियो। उनले भने, ‘प्रधानमन्त्रीले भ्रष्टचारीलाई हेर्न सक्दिन भन्नुहुन्छ, तर उहाँकै अगाडि एकपछि अर्को भ्रष्टचारका काण्ड बाहिर आइरहेका छन्।’






























