धनगढी पुगेर प्रधानमन्त्रीले विप्लवलाई भने-सरकार अब चुप लागेर बस्दैन
वि.सं.२०७५ फागुन ८ बुधवार १२:३६
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराधिक समूहको गतिविधिमा सरकार धेरै समय चुप लागेर नबस्ने चेतावनी दिएका छन्। बुधबार बिहान धनगढीस्थित सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताले एउटा दललाई स्पष्ट बहुमत दिएकाले सरकारले त्यही अनुसार काम गर्ने बताए।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिलाई सरकारले नजिकबाट नियालीरहेको र धेरै समय चुप लागेर नबस्ने पनि बताए। उनले निर्वाचित सरकारले स्पष्ट नीति र भिजनका साथ काम गरि रहेकाले क्रान्तिका कुरा गरेर हिंसा फैलाउने खोज्नु अपराध भएको बताए। क्रान्तिका कुरा गर्दै बिजुली आयोजना बनाउन नदिने, आगजनी गर्ने, चन्दा आतंक फैलाउने काम देश डुबाउने खेल हो, सरकार देश डुबाउने यस्ता कुराप्रति चुप लागेर बस्नेछैन, ओलीले भने।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले धर्म र राजसंस्थाको एजेन्डा बोकेर प्रतिगमनको बाटोमा जान खोजेको बताए। केहीले हिन्दुत्वको आडमा कोही जन्मजातै शासक हुने व्यवस्थाको सपना देखाइ रहेका छन, ओलीले भने, ‘२००७ सालमा भागेर दिल्ली गएका राजालाई डोकोमा बोकेर दुःख पाएका जनताले फेरि त्यही गल्ती दोर्होयाउँदैनन्। यस्ता प्रतिगमनउन्मुख कुरामा पनि आवश्यक नियन्त्रण हुनेछ।
मंगलबार मात्र राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री ओलीलाई २२ सुत्रीय मागसहितको ज्ञापन पत्र बुझाएका थिए। हिन्दुत्वको नारा सहित राप्रपाले फागुन १८ देखि मेची–महाकाली यात्रा गर्दैछ।





























